You are here
Home > समाचार > रवि लामिछाने र निलम्बित डिएसपी जिसीविरुद्ध उच्च अदालतमा मुद्धा दायर

रवि लामिछाने र निलम्बित डिएसपी जिसीविरुद्ध उच्च अदालतमा मुद्धा दायर

३० भाद्र २०७६, सोमबार १७:००

काठमाडौं- न्युज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ। निर्मला हत्या प्रकरणमा मुछिएका दीलिपपसिंह विष्टका दाजु खडक विष्टले यसअघि जिल्ला अदालत कन्चनपुरमा दायर गरेको मुद्दा खारेज भएपछि उनी उच्च अदालतमा मुद्धा दर्ता पुगेका हुन् ।

विष्टले जिल्ला अदालतको फैसला बदर गरी लामिछाने र जिसीलाई अदालतको अवहेलना अभियोगमा सजाय गर्न माग गर्दै सोमबार उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा पुनरावेदन दर्ता गराएका हुन् ।

‘अदालतमा विचारधीन मुद्दामा रवि लामिछाने र अंगुर जिसीले सार्वजनिक बहस गरी यो मुद्दालाई अन्तै मोड्न खोजेका छन्,’ पुनरावेदनमा भनिएको छ, ‘यसरी अदालतमा चलिरहेको मुद्दालाई अन्तै मोड्न खोज्नु अदालतको अवहेलना हो । उनीहरुलाई हदैसम्मको कारबाही गरियोस् ।’

जिल्ला आदलतको सोही फैसला बदर गरी रवि लामिछाने र अंगुर जिसीलाई कारबाहीको माग गर्दै विष्टले उच्च अदालतमा पुनरावेदन हालेका हुन् ।

१९ साउन राति लामिछानेले ‘सिधा कुरा जनतासँग’मा निर्मला हत्या प्रकरणबारे लामो बहस गरेका थिए जहाँ कञ्चनपुरका पत्रकार खेम भण्डारी र निर्मला बलात्कार तथा हत्या प्रकरण छानबिनमा दोषी मानिएर निलम्बनमा परेका डिएसपी अंगुर जिसी थिए ।