You are here
Home > राजनीति > उछृङ्खल क्रियाकलापप्रति सरकार गम्भीरः अध्यक्ष पचण्ड

उछृङ्खल क्रियाकलापप्रति सरकार गम्भीरः अध्यक्ष पचण्ड

५ आश्विन २०७६, आईतवार १३:५७

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले मुुलुकमा सुशासन कायम गर्न कमी कमजोरीको समीक्षा गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।

अध्यक्ष दाहालले अहिले केही मात्रामा बढेको अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सरकार र राजनीतिक दल गम्भीर भएको बताउँदै उहाँले यस्ता क्रियाकलापले वर्तमान प्रणालीमा कुनै खतरा नभएको टिप्पणी गर्नुभयो । उहाँले अराजक गतिविधि र उछृङ्खल क्रियाकलापप्रति सदनमा भएका सबै राजनीतिक दलले प्रतिवाद गर्नुपर्ने कुरामा जोड दिँदै भ्रष्टाचारको विरुद्धमा सरकार अघि बढेको छ भन्नुभयो ।

अध्यक्ष दाहालले एक प्रश्नको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँले नियमितरुपमा सरकार सञ्चालन गरिरहनु भएको प्रष्ट पार्दै प्रधानमन्त्रीले चाहेमा मन्त्रिमण्डलको पुनःगठन हुनसक्ने धारणा राख्नुभयो ।