You are here
Home > समाचार > चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ काठमाडाैंमा

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ काठमाडाैंमा

६ आश्विन २०७६, सोमबार १४:५६

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ आज (सोमबार) काठमाडाैं आईपुगेका छन् ।

आजबाट काठमाडौंमा शुरु हुने चिनियाँ कम्युनिष्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरक्रियाका लागि सोङ आएका हुन् । उनी थाइल्याण्डबाट आज दिउँसो १२ः२५ मा त्रिभुवन विमानस्थल आईपुगेको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी गराएका छन् ।

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालको निमन्त्रणामा सोङ नेपाल आएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश, पार्टी स्कुल र संगठन विभागका तर्फबाट कार्यपत्र पेस गर्ने गरी आयोजना हुने कार्यक्रममा भाग लिन चीनबाट यसअघि नै ४० जना काठमाडौं आइसकेका छन् ।

सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच पहिलो पटक वैचारिक छलफल हुन लागेको हो । यसअघि पार्टीको उच्च नेतृत्व तहमा मात्रै हुँदै आएको वैचारिक छलफल यसपालि चीनको राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि वृहत् रुपमा आयोजना गरिएको हो ।

राष्ट्रपति सी असोज अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी छ । कार्यक्रमकै बीचमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच समझादारीपत्रमा हस्ताक्षर हुने योजना छ । नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले दुई पार्टीबीचको समझदारी पत्रमा हस्ताक्षर गर्नेछन् ।