You are here
Home > समाचार > गाँजा नियन्त्रण लिन प्रहरीले गोली चलायो

गाँजा नियन्त्रण लिन प्रहरीले गोली चलायो

७ आश्विन २०७६, मंगलवार १९:४६

काठमाडौं-अपराधीलाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाएको छ । मकवानपुरमा प्रहरीले दुई राउण्ड गोली हानेर एक ट्रक चालकलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।

पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि चढेका प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर भागेपछि पिछा गर्दै गएको प्रहरी टोलीले घेरा हाली ट्रक चालकलाई नियन्त्रणमा लिएको हो । उनी पर्सा वीरगन्ज महानगरपालिका–२९ का अफ्रिका चौधरी हुन् ।

प्रहरीले चौधरीलाई नियन्त्रणमा लिँदा उनको देब्रे खुट्टामा दुई राउण्ड गोली प्रहार गरेको मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिनुभयो । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रकबाट प्रहरीले १४ पोका गाँजा बरामद गरेको छ ।

७८ किलो ८०० ग्राम गाँजासहित पक्राउ परेका चौधरीलाई प्रहरीले हेटौंडा अस्पतालमा उपचार गराइरहेको छ । ट्रकमा रहेका अर्का एक ब्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।