You are here
Home > समाचार > सुदूरपश्चिम सरकारद्वारा संघीय प्रहरीलाई नौ वटा गाडी हस्तान्तरण

सुदूरपश्चिम सरकारद्वारा संघीय प्रहरीलाई नौ वटा गाडी हस्तान्तरण

८ आश्विन २०७६, बुधबार १४:२५

काठमाडौं- सुदूरपश्चिम सरकारले खरिद गरेका गाडी संघीय प्रहरीलाई हस्तान्तरण गरेको छ। देश प्रहरी ऐन नबन्दै खरिद गरेका गाडी बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणिप्रसाद लम्साललाई गाडी हस्तान्तरण गरेका हुन्।

प्रदेश प्रहरी गठन नहुँदासम्म ती गाडीहरु प्रयोगमा नआउने भएपछि सुदूरपश्चिम सरकारले संघीय सरकार मातहतको नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीको लागि खरिद गरेको गाडी आज हस्तान्तरण गरेको हो ।

मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजार खर्चेर नौ गाडी खरिद गरेको थियो । प्रतिगाडी ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएका गाडी प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भएपछि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताए ।