You are here
Home > समाचार > दुई भारतीयसहित ४ जना डाकालाई प्रहरीले गोली हानेर समात्यो

दुई भारतीयसहित ४ जना डाकालाई प्रहरीले गोली हानेर समात्यो

९ आश्विन २०७६, बिहीबार ०८:३७

जनकपुरधाम- जनकपुरको जानकी फर्निसिङ पसलमा डकैती गर्ने क्रममै दुई भारतीयसहित चार जनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। पक्राउ परेकाको साथबाट हतियार समेत बरामद भएको छ। पक्राउ पर्नेमा भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो. इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको बृदावन नगरपालिका घर भएका ३५ वर्षीय गगण पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोदप्रसाद सिंह छन्।

पक्राउ गर्ने क्रममा सिंहलाई गोली लागेको छ। खुट्टामा गोली लागेको सिंहलाई उपचारका लागि प्रहरीले जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको छ। धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार विहान साढे ३ बजे पसलको सटर फोड्दै प्रहरीले देखेपछि पक्राउ गर्न खोज्दा डकैतहरु भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड गोली चलाएर दुई जनालाई समात्यो।

घटनास्थलबाट भागेका थप दुई डकैत पनि पक्राउ परिसकेको छ । उनीहरुको साथबाट लोडेड अवस्थामा एक थान कटुवा पेस्तोल, केहि राउण्ड गोली र पसलको सटर फोड्ने विभिन्न उपकरण समेत बरामद गरिएको प्रहरीले जनाएको छ।