You are here
Home > समाचार > नौबिसे–कलङ्की सडक खण्डको जाम हटाउन गृहमन्त्रीको निर्देशन

नौबिसे–कलङ्की सडक खण्डको जाम हटाउन गृहमन्त्रीको निर्देशन

१० आश्विन २०७६, शुक्रबार १८:४३

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नौबिसे–कलङ्की सडक खण्डको सवारी जाम तत्काल हटाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

उनले ट्राफिक जाम अत्याधिक बढेको जनगुनासो आएको भन्दै तत्काल जनताले महसुस हुने गरी जाम हटाउन सम्बद्ध सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेस थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकाललाई आज मन्त्रालयमा बोलाएर जाम हटाउन आवश्यक पहलकदमी लिन निर्देशन दिएका हुन् ।

उनले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला तथा मालबाहक सवारीसाधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन, आवश्यक क्रेनको व्यवस्था मिलाउन समेत निर्देशन दिएका हुन् । जाममा परेका बिमारीहरुको आवश्यकताअनुसार उद्धारका सबै उपाय अपनाउन समेत उनले निर्देशन दिए ।

बैठकमा सरकारी अधिकारीहरुले बिहीबारको तुलनामा शुक्रबार केही सहज रहेको जानकारी दिँदै थप सहजताका लागि प्रयास भइरहेको जानकारी दिएका छन् ।