You are here
Home > खेलकुद > क्यानको अध्यक्षमा चन्द निर्वाचित

क्यानको अध्यक्षमा चन्द निर्वाचित

११ आश्विन २०७६, शनिबार १९:३०

काठमाडौं -अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) द्धारा निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभाबाट कांग्रेस निकट चतुर बहादुर चन्द निर्वाचित भएका छ्न्। शुक्रवारदेखि भएको साधारणसभाका क्रममा भएको चुनावले शनिवार चन्दलाई चुनेको हो।

यो निर्वाचन निष्पक्ष र राजनीतिक हस्तक्षेप बिना सम्पन्न गरि आइसीसीले क्यानको निलम्बन फुकुवाका लागि असोज १४ गते सम्ममा क्यानको रिपोर्ट आइसीसीमा पुर्याउनु पर्नेछ। नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले तयार पारेको विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको निर्वाचन गराएको हो।

साधारण सभामा क्यानको जिल्ला र प्रदेशबाट ५९ सदस्य प्रतिनिधि काठमाडौं आएका थिए। सदस्य संख्याको बहुमतले क्यानको नयाँ नेतृत्व चयन गरेको हो। नयाँ नेतृत्वका लागि चतुरबहादुर चन्दसँग विनयराज पाण्डे प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रेका थिए। चन्दले ४४ मत ल्याए भने पाण्डेले मात्र १५ मतमा चित्त बुझाए।

१७ पदका लागि भएको निर्वाचनमा चन्दको समुहको १७ जना नै निर्वाचित भएका हुन्। क्यानको उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल, कोषाध्यक्षमा रोशन कुमार सिंह र उपेन्द्र भट्टराई निर्वाचित भएका छन्।

त्यसैगरी, जयन्ती भट्ट, महिला सदस्य ( निर्विरोध निर्वाचित), कैलाश विष्ट प्रदेश सदस्य नं १, लाक्पा लामा प्रदेश सदस्य नं १, दाउद अंसारी (मोहम्मद) प्रदेश सदस्य नं २ (निर्विरोध निर्वाचित), अमित वीर पाण्डे प्रदेश सदस्य नं ३, कैलाश प्रधान प्रदेश सदस्य नं ३, ऋषी राम गौतम प्रदेश सदस्य नं ४ (निर्विरोध निर्वाचित), प्रशान्त विक्रम मल्ल प्रदेश सदस्य नं ५ (निर्विरोध निर्वाचित), पदम बहादुर खड्का प्रदेश सदस्य नं ६ (निर्विरोध निर्वाचित), विक्रम विष्ट प्रदेश सदस्य नं ७ (निर्विरोध निर्वाचित) भएका छन्।

यस्तै, अर्जुन पौडेल खुल्ला सदस्य, विरेन्द्र बहादुर चन्द खुल्ला सदस्य, धिरेन्द्र साउद खुल्ला सदस्य, दुर्गा राज पाठक खुल्ला सदस्य, जगत बहादुर टमटा खुल्ला सदस्य, करन महोत्रा क्षेत्री खुल्ला सदस्य, माधव कुमार कर्माचार्य खुल्ला सदस्य, नरेश राणा खुल्ला सदस्य, पवन कुमार अग्रवाल खुल्ला सदस्य, प्रपूल्ल वैघ खुल्ला सदस्य र संजय राज सिंह खुल्ला सदस्य निर्वाचित भएका छन्।