You are here
Home > समाचार > चौथो पुस्ताको फोरजी सेवा ५० शहरमा विस्तार

चौथो पुस्ताको फोरजी सेवा ५० शहरमा विस्तार

१५ आश्विन २०७६, बुधबार २०:११

काठमाडौं- सरकारी स्वामित्वको नेपाल टेलिकमले सातवटै प्रदेशका मुख्य शहरमा चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गरेका हुन्।

यो सात प्रदेशका ३२ जिल्लामा रहेका ५० बढी शहरमा फोरजी विस्तार भएको छ। टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो।

फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ। गत माघमा सम्झौता भएबमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पुर्‍याउने लक्ष्य साथ काम भइरहेको छ। उक्त सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ।

सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटिइ कर्पोरेशन र हङकङको सिसिएसआई कम्पनीसँग सम्झौता भएको थियो।