You are here
Home > समाचार > पत्रकार शिवाकोटीलाई प्रहरीको सुरक्षा

पत्रकार शिवाकोटीलाई प्रहरीको सुरक्षा

१६ आश्विन २०७६, बिहीबार २०:५०

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारीलाई गरेको बलात्कारको घटना पहिलोपल्ट सार्वजनिक गर्ने पत्रकारलाई प्रहरीले सुरक्षा दिएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई बलात्कार गरेको भन्दै लगाएको आरोपको समाचार पहिलोपल्ट प्रकाशित गरेका पत्रकार अजयबाबु शिवाकोटीलाई प्रहरीले सुरक्षा दिएको हो ।

पछिल्लो समयको चर्चित घटना भएको र यस्तो घटनामा असुरक्षा छ कि भनेर प्रहरी सचेत हुँदै निगरानी बढाइएको बताउँदै काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले भने, सुरक्षाकर्मी नै खटाएको अवस्था होइन, निगरानी मात्र गरेका हौं ।’

शिवाकोटीले आफूलाई सुरक्षा चाहिएको नबताएको भए पनि प्रहरी आफै सचेत भएर निगरानी गरिरहेको उनले जानकारी दिएका छन् । यता पत्रकार शिवाकोटीले पनि प्रहरी आफैले फोन गरेर निगरानी गरिरहेको जनाएको बताएका छन् ।

शिवाकोटीले सोमबार रोशनी शाहीले महरालाई बलात्कारको आरोप लगाएको भिडियोसहितको रिपोर्ट पहिलोपल्ट हाम्रा कुरा डटकममा प्रकाशित गरेका थिए । त्यही समाचारपछि महराले सभामुख पदबाट राजीनामा दिएका छन् । तर, रोशनीले मंगलबार आफ्नो बोली फेर्दै महरा आफ्नो कोठामा नआएको र आफूले बाबु समान आदर गर्ने गरेको बताएकी थिइन् ।