You are here
Home > समाचार > भारतले जानकारी नै नदिई बन्द गर्‍यो नेपालगञ्ज सीमा नाका

भारतले जानकारी नै नदिई बन्द गर्‍यो नेपालगञ्ज सीमा नाका

२३ कार्तिक २०७६, शनिबार ०९:१२

नेपालगञ्ज- भारतले नेपाली भूमि मिचेर नक्सा सार्वजनिक गरेपछि भारतविरोध प्रदर्शन चर्किरहेका बेला भारतले नेपालगञ्जस्थित सीमा नाका बन्द गरेको छ ।

भारतले नेपाललाई कुनै औपचारिक जानकारी नै नदिई शनिबार बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको हो। भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका शिल गरेको जनाइएको छ ।

भारतले नाका शिल गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेकोबारेमा औपचारिक जानकारी नआएको बताएका छन् ।

भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका शिल गर्नु परेको जनाएको छ । बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरूले बिहान मात्रै नाका शिल गरेको बारेमा जानकारी दिएको बताएका छन् ।

भारतीय प्रहरीले शनिबार विहानैदेखि नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन्।