You are here
Home > समाचार > ‘अकुपाई टुँडिखेल’ अभियान शुरु

‘अकुपाई टुँडिखेल’ अभियान शुरु

२३ कार्तिक २०७६, शनिबार १०:२६

काठमाडौं-अतिक्रमित टुँडिखेल जोगाउन आजबाट ‘अकुपाई टुँडिखेल’ अभियान शुरु भएको छ । अभियानमा सहभागीले रत्नपार्कदेखि सैनिकमञ्चसम्म मानव सांग्लो बनाएका छन् ।

देश परिवर्तनका लागि हुने विभिन्न आन्दोलन गर्ने यो सार्वजनिक भूमी अहिले अतिक्रमणमा परेको भन्दै अतिक्रमणबाट मुक्त गराउन अकुपाई टुँडिखेल अभियान चलाइएको अभियन्ता आलोकसिद्धि तुलाधरले जानकारी दिए।

खुलामञ्च नागरिकले आफ्नो अधिकारको लागि बोल्ने र आफ्नो आवाज सरकारसम्म पुर्‍याउने ठाउँ भएको भन्दै अर्का अभियन्ता अभियन्ता गणपतिलाल श्रेष्ठले खुलामञ्‍च, टुँडिखेल मासेर नागरिकलाई आफ्ना आवाज व्यक्त गर्न वञ्चित गरिएको आरोप लगाउँदै त्यसकै खबरदारीका लागि यो अभियान चलाइएको बताए ।

यो अभियान अन्तर्गत ‘अकुपाई टुँडिखेल’ आजदेखि तीन महिना हरेक शनिबार आयोजना हुने अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिए ।

आज मानव साङ्लोले टुँडिखेल घेर्ने टुँडिखेल अतिक्रमणको चपेटामा परेपछि खुला राख्न दबाब दिन अभियानले आज मानव साङ्लोले टुँडिखेल घेर्दै कार्यक्रम तय गरेको हो।

अभियानलाई साथ दिन पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्वमन्त्री हिसिला यमी, भीमसेनदास प्रधान, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमालगायत खुलामञ्च क्षेत्रमा उपस्थित भएका छन् । अभियन्ताहरुले ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, ‘पुर्खाको नासो जनताको हक’ लगायतका नारा लेखिएका प्लेकार्डसहित अभियानमा उपस्थित भएका छन् ।

‘अकुपाई टुँडिखेल’ नामको यस्ता कार्यक्रम तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन् । टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो ।