You are here
Home > समाचार > डा. केसीलाई लिन सेनाको हेलिकोप्टर डडेल्धुरामा

डा. केसीलाई लिन सेनाको हेलिकोप्टर डडेल्धुरामा

२५ कार्तिक २०७६, सोमबार ११:५३

काठमाडौं -अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको छ।

आठ दिन अघिबाट सत्रौँं अनसन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई आइतबार डडेल्धुरा जिल्ला अस्पताल भर्ना गरिएको थियो। सो अस्पतालले त्यहाँ आईसीयूलगायत सुविधा नभएकोले केसीलाई सुविधासम्पन्न ठाउँमा लैजान आग्रह गरेको थियो।

नेपाली सेनाको हेलिकोप्टर साढे ८ बजे नै डडेलधुरा पुगे पनि डाक्टर उनी आउन नमानेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए। प्रवक्ता पाण्डेका अनुसार केसीलाई लिन गएको हेलिकोप्टर अहिले डडेल्धुरास्थित सेनाको गणमा छ।

डडेल्धुरा जिल्ला अस्पतालका अनुसार डा. केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चालमा वृद्धि भई समस्या देखिएको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको छ। यस्तै, उनको स्वास्थ्य अवस्था कमजोर बनेको अस्पतालले जनाएको छ।

डा. केसीले गत सोमबार डडेल्धुरा पुगेर १७ औँ अनसन सुरु गरेका हुन्। आफूसँग भएका पूर्वसहमति कार्यान्‍वयन गर्नुपर्ने डा. केसीको अडान छ।