You are here
Home > समाचार > पत्रकार खेम भण्डारी एक घण्टाका लागि जेल चलान

पत्रकार खेम भण्डारी एक घण्टाका लागि जेल चलान

३ मंसिर २०७६, मंगलवार १६:५५


कञ्चनपुर-कञ्चनपुरका पत्रकार खेम भण्डारी एक घण्टाका लागि जेल चलान भएका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणबारे सामाजिक सञ्जालमा अदालतको अवहेलनामा हुने खालका सामग्री पोष्ट गरेको भन्दै जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई तीन शर्तसहित एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको फैसला गरेको थियो । फैसलाविरुद्ध पुनरावेदन गर्ने म्याद सकिएपछि जिल्ला अदालतको फैसला कार्यान्वयन शाखाले उनलाई पक्राउ गरी जेल पठाएको हो । उनी आजै छुट्ने छन् ।

जिल्ला बार इकाइले ४ चैत २०७५ मा दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलाशले ८४ पृष्ठ लामो फैसला सुनाएको थियो । पत्रकार भण्डारीले तीन दिनभित्र तीन शर्त पूरा नगरेमा मात्र उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय तोकिएको हो ।

अदालतको मानहानी हुनेगरी सामाजिक सञ्जालमा लेखिएका स्टाटस हटाउनुपर्ने, कानुन व्यवसायी र कानुन व्यवसायीका विरुद्ध अदालतमा आँच आउने कुरा पोष्ट गर्न नहुने, आफ्नै सामाजिक सञ्जाल र मिडियाबाट आगामी दिनमा नलेख्ने प्रतिवद्धता व्यक्त गर्ने सर्त राखिएको थियो ।

पत्रकार भण्डारी मानखण्ड दैनिकका प्रधानसम्पादक तथा न्यूनतम पारिश्रमिक समितिका पूर्वअध्यक्ष पनि हुन् ।