You are here
Home > प्रशासन > बैंकर अजय श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

बैंकर अजय श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

८ मंसिर २०७६, आईतवार १७:२८

काठमाडौं – सर्वोच्च अदालतले कीर्ते कागजातका आधारमा ऋण दिएको अभियोगमा थुनामा रहेका ब‌ैंकर अजय श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ। 

सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार बैंकर श्रेष्ठ र किरणकुमार बोहोरालाई जनही एक एक करोड धरौटी लिएर रिहा गर्न आदेश भएको हो। ‘दुवैसँग एक एक करोड रुपैयाँ धरौटी मागिएको छ’, पौडेलले भने, ‘उक्त धरौटी वापतको रकम बुझाएपछि उहाँहरु रिहा हुनुहुन्छ।’

सर्वोच्चले उच्च अदालतबाट भएको दुवैलाई थुनामा राखी अनुसन्धान अघि बढाउन दिएको आदेश बदर गर्दै धरौटी मागेको हो। न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासशबाट यस्तो आदेश भएको हो। उच्च अदालतले दुवैलाई थुनामा पठाएपछि सर्वोच्च गएका थिए।  बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठसहित ११ जनालाई पाँच करोड रुपैयाँ ऋण दूरुपयोग बारे उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत ५ असोजमा पक्राउ गरेको थियो। लुम्बिनी बैंकलाई मर्ज गर्नुअघि नै गएको ऋण दूरुपयोग भएको उजुरी परेको थियो।