You are here
Home > अर्थ/बजार > कृषि विकास बैंकमा घोटाला काण्डः , दुई अर्ब ७१ करोड बिगो गर्दै भ्रष्टाचार मुद्दा दायर

कृषि विकास बैंकमा घोटाला काण्डः , दुई अर्ब ७१ करोड बिगो गर्दै भ्रष्टाचार मुद्दा दायर

९ मंसिर २०७६, सोमबार १६:५७

काठमाडौँ-कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत, शाखा प्रबन्धकसहित आठ जनाविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालतमा शाखा अधिकृत केदारप्रसाद गौतमसहित ८ जनाविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरु आठ जनाविरूद्ध दुई अर्ब ७१ करोड ४४ लाख बिगो माग दाबी गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। उनीहरूलाई जनही सोही बराबरको बिगो तथा सजाय माग गरिएको छ।

आयोगले शाखा अधिकृत गौतमसहित तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ, सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दीप गुप्ता र कृष्णहरि थापाविरुद्ध पनि मुद्दा दायर भएको छ।

अनुसन्धानका अनुसार शाखा अधिकृत केदारप्रसाद गौतमले झूटा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई रकम जम्मा गरेको, रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरूबाट र अन्य विभिन्न बैंकहरूबाट भुक्तानी लिएको खुलेको छ। ट्रान्सफर भएको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालय र अन्य विभिन्न बैंकहरुबाट विद्युतीय चेकमार्फत भुक्तानी लिने, नक्कली नाम तेजबहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजनाअनुरुप भारत गई बसेको समेत आरोपत्रमा उल्लेख छ।