You are here
Home > अर्थ/बजार > किर्ते गरेर बैङ्कबाट १९ लाख ९९ हजार निकाल्ने ६ जना प्रहरीको फन्दामा

किर्ते गरेर बैङ्कबाट १९ लाख ९९ हजार निकाल्ने ६ जना प्रहरीको फन्दामा

११ मंसिर २०७६, बुधबार १२:५३

काठमाडौं-विभिन्न बैङ्कमा खाता खोलेर अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ निकाल्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक पाँचखाल घर भई हाल कालीमाटी बस्ने १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे र २१ वर्षीय अञ्जन बराल रहेका छन् । त्यस्तै, बागलुङ लगकोट नगरपालिका घर भइ काठमाडौंको बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे घर भएर हाल काठमाडौंको सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् ।

गत सोमबार राति साढे ८ बजे जनता बैंकका खातावाल गोपालमान राजबाहकले आफ्नो खाताबाट पटक-पटक गरि १९ लाख ९ हजार रूपैंयाँ निकालेको म्यासेज मोबाइल आएको थियो । उनले पैसा नझिके पनि खाताबाट पैसा गएको घटना प्रहरीमा पुग्यो । अनुसन्धान थाल्दा गिरोह पक्राउ परेको हो।  

उनले कुनै पनि चेक कसैलाई नदिएको भन्ने सूचना प्रहरीले पाउनासाथ विशेष टोलीले सम्बन्धित बैंक तथा राष्ट्र बैंकका उच्च पदाधिकारीहरुसँग छलफल गरेको थियो।

गिरोहले नक्कली चेकबुक बनाएर खाताबाट पैसा झिकेको थियो। राजबाहकको खाताबाट पैसा निकाल्न पुनः चेक बोकेर एकजना व्यक्ति जनता बैंकको न्युरोड शाखामा आएको सूचना प्राप्त हुनासाथ नियन्त्रणमा लिइएको थियो। 

उनी पक्राउ परेपछि अन्य केहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट १८ लाख ५० हजार नगद, विभिन्न बैंकहरूका ठूलो परिमाणमा चेकबुक र खाता खोल्न तयार फारमहरू बरामद भएका छन् । 

प्रहरीका अनुसार, एनआइसी एसिया बैंकको भिजा कार्ड, विभिन्न व्यक्तिहरूको नागरिकताको फोटोकपी, प्रयोग भएका सिग्नेचरका नक्कलहरू बरामब गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौमा राखेर उनीहरुलाई बैंकिंङ कसुर सम्बन्धी अपराधमा मुद्दा चलाउन सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

उनीहरूबाट बिभिन्न व्यक्तिहरूको नागरिकताको २ सय ९० वटा प्रतिलिपि, विभिन्न व्यक्तिहरूका नाम र रकम उल्लेख गरिएको २६ वटा रजिष्टर, विभिन्न प्रकार हस्ताक्षर नमूना र बिभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको दुइवटा डायरी पनि बरामद भएको छ। 

विभिन्न व्यक्तिको खाता खोल्न फोटो टाँसेको तीन सयवटा तयारी फारम पनि फेला परेको छ। १ सय ९५ जनाको विभिन्न बैंकका स्टेटमेन्ट र जनता बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको १६ वटा चेकबुक १६ थान पनि फेला परेको छ।

यसैगरी काटिएको अवस्थाको ४१ पाना चेकबुक, ज्योति विकास बैंकबाट अन्जन बरालको नाममा जारी भएको काटिएको अवस्थाको चेकबुक पनि फेला परेको छ।

यसैगरी एभरेष्ट बैंकबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थाको २० वटा चेकबुक र काटिएको अवस्थाको चेकबुकका पाना पनि फेला परेको छ। 

माछापुच्छ्रे बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको १७ वटा चेकबुक र काटिएको अवस्थाको दुइवटा चेकबुक  फेला परेको छ। मुक्तिनाथ विकास बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको ४१ वटा चेकबुक र नकाटिएको चेकबुक पनि फेला परेको छ।

कयौं व्यक्तिहरुको नाममा रहेको खाताको सयौं थान सक्कली चेक समेत लिन सफल भएको देखिएको साथै सो खातावालहरुको सक्कली भिषा कार्ड समेत बनाइ प्रयोगमा ल्याएको देखिएकाले सम्बन्धित बैङ्कका कर्मचारीहरुको मिलोमतोको आशं अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।