You are here
Home > खेलकुद > १३ औं साग : महिला भलिबलको स्वर्णका लागि नेपाल र भारत भिड्दै

१३ औं साग : महिला भलिबलको स्वर्णका लागि नेपाल र भारत भिड्दै

१७ मंसिर २०७६, मंगलवार ०८:३७

काठमाडौं -१३ औं दक्षिण एशियाली खेलकुद साग पुरुष फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ।  खेल दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ। नेपाल पहिलो खेल खेल्न लागेको हो भने भुटानले हिजो बंगलादेशलाई हराउँदै ३ अंक जोडिसकेको छ।

दशरथ रंगशालामा साँझ ५ बजे माल्दिभ्स र बंगलादेशबीच अर्को खेल हुनेछ।   पोखरा रंगशालामा हुने महिला फुटबलमा नेपालले विहान १० बजे श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ। दिउँसो अर्को खेलमा भारत र माल्दिभ्स भिड्दैछन्।

आज भलिबलका खेलहरु सकिनेछन्। महिला भलिबलको फाइनलमा नेपाल र भारतबीच दिउँसो २ बजे प्रतिष्पर्धा हुनेछ। पुरुष भलिबलमा दिउँसो ४ बजे भारत र पाकिस्तान स्वर्ण पदकका लागि भिड्नेछन्।

पुरुष टि ट्वेन्टी क्रिकेटमा नेपालले आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ।  खेल त्रिवी क्रिकेट मैदान किर्तिपुरमा विहान ११ बजे हुनेछ। पोखरामा भइरहेको महिला क्रिकेटमा श्रीलंका र बंगलादेश भिड्नेछन्। 

नेपालले थप पदकको आशा गरेको करातेमा ६ खेल हुनेछन् । खेल विहान ९ बजेदेखि नेपाल कराते एकेडेमीको कभर्डहलमा सुरु हुनेछ। तेक्वान्दोमा आज ४ स्वर्णपदकको टुंगो लाग्नेछ। उसुमा महिला र पुरुष चाङक्वानको दुई वटा स्वर्ण पदकको छिनोफानो हुनेछ। एथलेटिक्सतर्फ विभिन्न ९ वटा प्रतिष्पर्धा हुँदैछन्। आजै खोखो, ब्याडमिन्टन, गल्फलगायतका खेल पनि आज हुँदैछन्।