You are here
Home > Front News > १३ औं साग : फुटबलदेखि कबड्डीका खेल आज

१३ औं साग : फुटबलदेखि कबड्डीका खेल आज

१८ मंसिर २०७६, बुधबार ०८:३१

काठमाडौं – १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत आज पनि विभिन्न खेलहरु हुँदैछन्।  पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ। खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ।

पहिलो खेलमा हिजो भुटानविरुद्ध ४–० शानदार जीत निकालेको नेपाली टोली आज पनि उच्च मनोबलका साथ मैदान उत्रनेछ।  त्रिवी क्रिकेट मैदान किर्तिपुरमा हुने पुरुष टि ट्वेन्टी क्रिकेटमा आज विहान ९ बजे बंगलादेश र माल्दिभ्स तथा दिउँसो १ बजे श्रीलंका र भुटान भिड्नेछन्। 

पोखरामा भइरहेको महिला क्रिकेटमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ। आज हुने अर्को खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन्।  करातेमा आज ४ स्वर्ण पदकको छिनोफानो हुनेछ। कुमुते पुरुष ५० केजी र महिला ६८ केजी तथा दुवैतर्फ टिम कुमुतेका खेलहरु हुनेछन्।

अहिलेसम्म नेपालले ९ स्वर्ण जितेको करातेका खेल आजदेखि सकिँदैछन्। तेक्वन्दोमा आज थप ६ वटा स्वर्णपदकका लागि प्रतिष्पर्धा हुनेछ। उसुको गिरोगीतर्फ आज दुई स्वर्ण पदकको टुंगो लाग्नेछ। आज ब्याडमिन्टनका क्वाटरफाइनल खेल हुनेछन्। ह्याण्डबल र कबड्डीका खेल आजदेखि शुरू हुँदैछन् भने एथलेटिक्सका विभिन्न इभेन्टका प्रतिष्पर्धा आज पनि जारी रहनेछन्। खो–खोमा महिला र पुरुषतर्फको स्वर्णपदकको छिनोफानो आज हुनेछ।