You are here
Home > अर्थ/बजार > १८ करोड हिनामिना गरेका बैंक सञ्चालक समिति अध्यक्ष र सदस्य १२ लाख धरौटीमा रिहा

१८ करोड हिनामिना गरेका बैंक सञ्चालक समिति अध्यक्ष र सदस्य १२ लाख धरौटीमा रिहा

१९ मंसिर २०७६, बिहीबार १४:४४

दाङ-१८ करोड रुपैंयाँ हिनामिनाको अभियोगमा मुद्दा झेलिरहेका तत्कालीन वेष्टर्न डेभलमेन्ट बैंक नारायणपुर शाखाका अभियुक्तमध्ये दुई जना धरौटीमा रिहा भएका छन् ।

उच्च अदालत तुलसीपुर दाङले बैंक सञ्चालक समिति अध्यक्ष अध्यक्ष ओमभक्त बुढाथोकी र सञ्चालक समिति सदस्य अर्जुन बुढाथोकीलाई बुधबार १२ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

प्रहरीले बैंकको १८ करोड हिनामिनाको मुद्दा दुई महिना लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले कात्तिक ३ गते उक्त मुद्दा उच्च अदालत तुलसीपुरमा दायर गरेको थियो ।

मुद्दा दायर गर्दा बैंक सञ्चालक समिति अध्यक्ष र सदस्य फरार सूचीमा थिए । त्यसपछि अदालतले उनीहरूको घरमा म्याद टाँसेको थियो । त्यसपछि सञ्चालक समिति अध्यक्ष बुढाथोकी र सदस्य बुढाथोकी दुबै जना अदालतमा उपस्थित भएका थिए ।

बैंकको १८ करोड हिनामिना प्रकरणमा ६ जना बैंक सञ्चालक, सिइओ, कर्मचारी, ऋणी, खातावाल गरेर ५६ जनाविरुद्ध मुद्दा छ । यसअघि नै पक्राउ परेकामध्ये बैंकका म्यानेजरसहित १३ जना कर्मचारी र खातावाला समेत गरी पाँच जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

१८ करोड हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेकामध्ये बैंकका सिइओ, सञ्चालक समितिका अन्य पदाधिकारी, बैंक ऋण बोर्ड सदस्यहरू फरार छन् ।