You are here
Home > समाचार > कोहलपुर तनावग्रस्त : डीएसपीसहित ९ प्रहरी घाइते

कोहलपुर तनावग्रस्त : डीएसपीसहित ९ प्रहरी घाइते

२२ मंसिर २०७६, आईतवार १४:०२

बाँके- कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ ।

आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ।

आइतबार बिहान ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएको थियो ।

ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरेको छ। आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायरसमेत गरेको छ।  दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन्।

प्रदर्शनकारीसँगको झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । उनिहरुकाे कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।