You are here
Home > खेलकुद > सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक

सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक

२५ मंसिर २०७६, बुधबार १९:४३

काठमाडौं-तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई सो सफलता मिलेको महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए ।

प्रतियोगितामा नेपाली सेनाका खेलाडीले ३१ रजत र  ४९ कास्य पदक प्राप्त गरेका छन्।

प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ विभागीय टोली हो ।

आर्मी क्लबमा आबद्ध गौरिका सिंहले पौडीका विभिन्न खेलमा चार स्वर्णसहित नौ पदक जितेर यस प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको परिचय स्थापित गरे ।

तेक्वान्दो विधामा सेनाको विभागीय टोलीमा रहेर स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा आयशा शाक्य, सञ्जीव ओझा, सीना मादेन लिम्बु, निता गुरुङ, प्रशंसा क्षेत्री, काजल श्रेष्ठ, सक्षम कार्की र भूपेन श्रेष्ठ छन् । यसैगरी कराँतेमा सङ्गीता मगर, प्रवीण मानन्धर र कुसुम खड्का तथा उसुमा विजय सिँजाली, सुस्मिता तामाङ र निमा घर्तीमगरले स्वर्ण पदक प्राप्त गरे ।

यस्तै गल्फमा सुवास तामाङ, बक्सिङमा मीनु गुरुङ, जुडोमा पुनम श्रेष्ठ, दुवाथोलनमा हिमाल टमाटा तथा फुटबलमा सुमन अर्याल, विकेश कुथु, विकास खवास र सेसेहाङक आङदम्बेले स्वर्ण पदक हासिल गरेका छन् । 

महासेनानी रायमाझीका अनुसार गत कात्तिक १ देखि १० गतेसम्म चीनको उहानमा आयोजित सातौँ विश्व सैनिक खेलकूद (सिज्मस्) मा भाग लिएका अनुभवी खेलाडीलाई सागमा सहभागी गराइएकाले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको हो ।