You are here
Home > समाचार > बलात्कार आरोपी सिद्धबाबामाथि अनुसन्धान गर्न तीन दिनको म्याद

बलात्कार आरोपी सिद्धबाबामाथि अनुसन्धान गर्न तीन दिनको म्याद

२७ मंसिर २०७६, शुक्रबार १७:११

मोरङ– आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीमाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरीमार्फत तेस्रो पटक अनुसन्धानका लागि थप दिनको म्याद पाएको छ ।

प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिन म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो । शुक्रबार जिल्ला अदालत सुनसरीले तीन दिनको म्याद थप गरेको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिएका छन् ।

म्याद थप पछि गिरीलाई पुनः अस्पताल नै लगिएको छ । मुटुको समस्याका कारण उपचार गराइरहेका गिरीलाई अदालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङहोम नै पठाइएको डिएसपी शर्माले जानकारी दिएका छन् ।

गिरी विराट नर्सिङहोमको ९ नम्बर डिलक्स रुपममा छन् । सुनसरी प्रहरीले मंसिर १६ गते चार दिन र मंसिर २० गते बलात्कार मुद्धामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको थियो ।