You are here
Home > समाचार > राजधानीमा तीन महिने ट्राफिक उज्यालो अभियान शुरु

राजधानीमा तीन महिने ट्राफिक उज्यालो अभियान शुरु

१ पुष २०७६, मंगलवार १४:३३

काठमाडौं– उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुुल्याउन र दुर्घटना न्यूूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक–सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी तीन महिने ट्राफिक उज्यालो अभियान आजदेखि शुरु गरिएको छ ।

ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुुर्‍याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान शुुरु गरेको हो ।

अभियानका क्रममा समुुदाय प्रहरी साझेदारीसँग समन्वय गरी पर्चा पम्प्लेट, स्टिकर विरण र श्रव्य दृष्य प्रदर्शनी ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा सचेतना कक्ष लिने र स्कूल–कलेजका विद्यार्थीलाई विद्यालयमै गएर कक्षा लिने विधि बनाइएको छ ।

महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुनेछ । पुस, माघ र फागुन महिनासम्म सञ्चालन हुने अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिइने छ ।

त्यसक्रममा कम्तीमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक ३० हजार, निजी सवारी चालक १५ हजार सरकारी चालक ५ हजार, पैदलयात्री २० हजार र विद्यार्थीलाई सवारी सडक अनुशासनबारे प्रशिक्षित तुुल्याइने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।