You are here
Home > अर्थ/बजार > उखु किसानको रकम नदिने चिनी मिलको बैंक खाता रोक्का

उखु किसानको रकम नदिने चिनी मिलको बैंक खाता रोक्का

८ माघ २०७६, बुधबार १९:१७

काठमाडौं -सरकारले किसानको वक्यौता नतिर्ने चिनी मिललाई कडाई गर्न थालेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता दिनेश भट्टराईले किसानको वक्यौता नतिर्ने चिनी मिल संचालनको बैंक खाता रोक्काको लागि प्रकृया अगाडि बढाइएको बताउनुभयो ।

मन्त्रालयले पुस १८ गते उखु किसानसँग गरेको सम्झौता अनुसार उद्योगबाट रकम भुक्तानी गराउने पहल भइरहेको र केही उद्योग अझै सम्पर्कमा नआएकोले आर्थिक कारोबार रोक्का गर्न पत्राचार गरेको हो ।

प्रवक्ता भट्टराईका अनुसार अन्नपूर्ण सुगर एण्ड जनरल ई प्रालि, इन्दिरा सुगर एण्ड एग्रो ई प्रालि, बाबा बैजुनाथ चिनी उद्योग, लुम्बिनी चिनी उद्योग, श्रीराम सुगर मिल्स लगायतका उद्योगको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी भएको छ ।

सर्लाहीको अन्नपूर्ण चिनी मिलले ४२ करोड, नवलपरासीमा रहेको लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकारी स्वामित्वको लुम्बिनी चिनी मिल मनिष अग्रवालले भाडामा सञ्चालन गरेका थिए । उनको मृत्यु भइसकेको छ । किसानको रकम भुक्तानी गर्न आग्रह गर्दा परिवार उद्योग सञ्चालकको परिवार सम्पर्कमा नआएकाले बैंक खाता रोक्का गर्नुपरेको मन्त्रालयले जनाएको छ ।