You are here
Home > अर्थ/बजार > करोडौं ठग्ने गजमेरको सेटिङ मिलाउने अखडा बन्यो कारागार

करोडौं ठग्ने गजमेरको सेटिङ मिलाउने अखडा बन्यो कारागार

१४ माघ २०७६, मंगलवार १७:३१

काठमाडौं-माइ इन्भेष्टमेन्ट कम्पनीको नाममा करोडौं ठगी गरी पूर्पक्षका लागि जेल चलान भएका अनिल गजमेरका लागि डिल्लीबजारस्थित कारागार सेटिङ मिलाउने अखडा बनेको छ।

उनी अहिले सजाय काट्ने भन्दा पनि कारागारमा मोजमस्ती जीवन विताईरहेको स्रोतहरुले दावी गरेका छन्। कारागारमा कैदी बन्दीलाई एक घरको परिवार बाहेक अन्य व्यक्तिसँग दिनहुँ भेटघाट गर्ने गरेको स्रोतको भनाई छ। अदालतमा सेटिङ गर्दिन्छु भन्दै दलाल र माफियाहरूको जमघट कारागारमा हुने गरेको स्रोतको दावी छ।

जेलर र सुरक्षामा खटिएका प्रहरीको सेटिङमा गजमेरको भेटघाट सहज बनाईएको आरोप लागेको छ ।यहाँसम्मकी कारागारले दिने भन्दा बढी सुबिधा लिँदै आएको विरोधमा बन्दीले आवाज उठाएमा तत्काल उसलाई कारवाही स्वरुप अन्य जेल पठाउने देखि सामान्य सुबिधा समेत बन्द गर्ने सक्ने क्षमता गजमेरले राख्दै आएको बताइन्छ ।

जिल्ला अदालत काठमाडौंमा विचाराधिन अबस्थामा रहेको मुद्दाबाट सफाई पाउन अहिले गजमेरले केही दलाललाई लगाएका छन् ।

गजमेरविरुद्ध जिल्ला अदालत काठमाडौंमा ३ करोड रुपैयाँभन्दा बढी ठगीको मुद्दा बिचाराधिन अबस्थामा छ । २०७४ पुस २७ गतेदेखि गत वैशाख २३ गतेसम्म ८ जनाले मुद्दा दर्ता गराएका थिए ।

कास्कीका भुषालजंग कुँवरको मात्र गजमेरले ७० लाख २३ हजार रुपैयाँ ठगी गरेको अभियोग छ । त्यस्तै सिन्धुलीका लोकहरी पौडेलको ४५ लाख ५१ हजार रुपैयाँ, वीरबहादुर गुरुङको ३९ लाख रुपैयाँ बराबरको बिगो सहित मुद्दा दर्ता गरेका छन् ।

झण्डै साढे ४ करोड ठगीको आरोपमा माई इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष समेत रहेका गजमेर अहिले मुद्दा पुर्पक्षको लागि डिल्लीबजार कारागार छन् । बालुवाटारस्थित कालिका टावरमा माइ इन्भेष्टमेन्ट कम्पनी खोलेका उनले आफ्नो कम्पनीमा लगानी गरे २० देखि २५ प्रतिशतसम्म ब्याज रकम पाउने, शेयर र मुनाफा पनि छुट्टै दिने भनेर प्रलोभनमा देखाउँदै ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको थियो ।

गजमेरको कम्पनीले रजिष्ट्रारको कार्यालयबाट कम्पनी दर्ता भएपछि लेखा परिक्षण प्रतिवदेन लगायतका कुनै पनि विवरण रजिष्ट्रारको कार्यालयमा जानकारी गराएका थिएनन् ।

कम्पनीमार्फत उनले ४ सय जना व्यक्तिहरूलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो ।