You are here
Home > प्रशासन > दोलखाका तत्कालीन प्रजिअ रिजालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

दोलखाका तत्कालीन प्रजिअ रिजालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

२० माघ २०७६, सोमबार १९:३३

काठमाडौं -दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ५ वटा मुद्दा दर्ता गरेको छ। तत्कालीन प्रजिअ रिजालविरुद्ध अख्तियारले ४ वटा घुससम्बन्धी र अनुगमनमै नगइ भत्ता बुझेकोसहित ५ वटा अलग अलग आरोपमा सोमबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार दोलखामै रहँदा रिजालले विभिन्‍न मुद्दासम्बन्धी केशमा सेवाग्राहीलाई बढी सजाय र जेल पठाइदिने डरत्रास देखाएर घुस लिएको खुलेको छ। रिजालले विभिन्‍न चारवटा मुद्दामा फरक फरक सेवाग्राहीबाट घुस लिएका हुन्।  रिजालले चारजना सेवाग्राहीलाई जेल सजाय गराइदिने डर देखाएर ५० हजार , ९० हजार, ३५ हजार र अर्को ४ लाख रुपैयाँ घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।  त्यसैगरि भ्रमण खर्च नियमावली २०६४ बमोजिम भ्रमण अभिलेख खातामा दर्ता नगरी/खाता नै खडा नगरी भ्रमण आदेश र दैनिक तथा भ्रमण खर्चको बिलमा स्वीकृत गर्ने पदाधिकारीको दस्तखतसमेत नगरी भत्ता लिएको पनि रिजालमाथि आरोप लागेको छ।