You are here
Home > खेलकुद > एपिएफको फ्रेन्ड्स क्लबमाथि सानदार जीत

एपिएफको फ्रेन्ड्स क्लबमाथि सानदार जीत

२७ माघ २०७६, सोमबार १६:५८

काठमाडौं-शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जीत हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । एपिएफको जीतमा आशिष लामा र प्रवीन स्याङतेनले दुई-दुई गोल गरे भने कप्तान टोपबहादुर विष्टले थप एक गोल गरे । पराजित फ्रेन्ड्स क्लबका लागि विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे ।

खेलको १२ औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाए । खेलको ६९ औँ मिनेटमा फिलिपेले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को स्थितिमा ल्याए । खेलको ७१ औँ मिनेटमा प्रवीनले गोल गर्दै एपिएफलाई ३–१ को अग्रता दिलाए  । ७६ औँ मिनेटमा फ्रेन्ड्सका विश्वले गोल गर्दा खेल ३–२ को स्थितिमा पुग्यो  । 

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एपिएफले लगातार दुई गोल गर्यो । जसमा कप्तान टोपबहादुरले गोल गर्दै एपिएफलाई ४–२ को अग्रता दिलाए भने  प्रवीनले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ५–२ को सानदार जीत दिलाए  । 

जीतसँगै एपिएफले १२ खेलमा आठ अङ्क जोडेको छ । एपिएफ १३ औँ स्थानमा छ । पराजित फ्रेन्ड्स १२ खेलमा १४ अङ्क जोडेर लिगको नवौँ स्थानमा रहेको छ ।