You are here
Home > समाचार > मुख्य समाचार > ठाकुर ज्ञवालीलाई आईजीपी बनाउन प्रस्ताव

ठाकुर ज्ञवालीलाई आईजीपी बनाउन प्रस्ताव

२८ माघ २०७६, मंगलवार १६:२६

काठमाडौं – ठाकुर प्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन गृह मन्त्रालयले प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफलपछि ज्ञवालीलाई आईजीपी बनाउने प्रस्ताव लैजाने निर्णय भएको हो ।

बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद बैठक सुरु हुँदैछ । यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय गरेको थिएन ।

प्रहरी महानिरीक्षकको कार्यकाल चारवर्षे भए पनि यसपटक आइजीपी बन्नेको कार्यकाल जम्मा पाँच महिनाको मात्रै हुनेछ।

यसपटक भने प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) प्रहरी महानिरीक्षक खनालसँगै अवकाश हुँदै छन्। त्यसकारण डिआइजीमध्येबाटै महानिरीक्षक बन्नेछन्। प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले आजै अवका पाउदैछन्।

उनीहरुसँगै १८ प्रहरी नायब महानिरीक्षक ९डिआइजी०सहित मंगलबार २२ जनाको अवकाश हुने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए।

अवकाश पाउन लागेका डिआइजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापति छन्।

यसपटक प्रहरी महानिरीक्षको लाइनका लागि प्रदेश नं १ का प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक तारिणी लम्साल छन्। उनीहरु २०४७ साल असार २५ मा एकै पटक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्।

उनीहरुको सेवा अवधि आगामी असारसम्मको छ। एक प्रहरी अधिकारीका अनुसार महानिरीक्षकमा ज्ञवालीको सम्भावना बढी छ। उनको फाइल अघि बढिसकेको छ। मंगलबार मन्त्रिपरिषद्ले निर्णय गर्नेछ। अर्का प्रहरी नायब महानिरीक्षक सूर्यप्रसाद उपाध्याय ढिला बढुवा भएकाले प्रतिस्पर्धामा कमजोर छन्।

हालका प्रहरी महानिरीक्षक खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा उनहरुको नाम वैकल्पिक उम्मेदवारका रुपमा निस्किएको थियो। त्यसकारण उनी पाँच महिना ढिला गरी नियुक्ति भएका हुन्।

प्रहरी नियमावलीमा एआइजी नभए डिआइजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने प्रावधान छ। कार्यम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता, अनुभवलगायत विभिन्न मापनका आधारमा बढुवा हुन्छ।

नियमावलीमा प्रहरी नायब महानिरीक्षकमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्न सकिने उल्लेख छ।

प्रहरी प्रधान कार्यालयमा मंगलबार नै प्रहरी महानिरीक्षको बिदाइ गर्दैछ। बुधबार नयाँ प्रहरी महानिरीक्षकको स्वागतको तयारी गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।