You are here
Home > राजनीति > अब जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव : प्रचण्ड

अब जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव : प्रचण्ड

१ फाल्गुन २०७६, बिहीबार १३:४८

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जली सभा’ मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने स्पष्ट गरे ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सङ्केत गर्दै उनले भने, ‘एकथरी साथीहरु फेरि विद्रोहतिर लाग्नु भएको छ, तर हामीले सबै परिस्थिति र विश्व अनुभवको समीक्षा गरेर शान्ति प्रक्रियामा आएर मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौं, जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोह जस्तै सकिने थियौं, हामीले कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौं ।’

तत्कालीन नेकपा (माओवादी) ले विसं २०५२ फागुन १ गते गणतन्त्र स्थापनाको लक्ष्यसहित जनयुुद्धको आरम्भ गरेको थियो । विश्व कम्युनिष्ट आन्दोलनका उपलब्धि र क्षतिका अनुभवबारे चर्चा गर्दै उनले क्रान्ति कुनै आयात या निर्यात गर्ने विषय नभएकाले यसलाई हरेक देशको ऐतिहासिक आवश्यकता र मौलिकताका आधारमा हेर्न आग्रह गरे ।