You are here
Home > अर्थ/बजार > सेनाको भ्रष्टाचार मुद्धा, पूर्व प्रधानसेनापति क्षेत्रीको सम्पत्ति छानबिन हुने

सेनाको भ्रष्टाचार मुद्धा, पूर्व प्रधानसेनापति क्षेत्रीको सम्पत्ति छानबिन हुने

१ फाल्गुन २०७६, बिहीबार १९:३०

काठमाडौं-नेपाली सेनाभित्र हुने भ्रष्टाचारको राज्य व्यवस्था तथा सुशासन समितिले छानबिन गर्न पाउनुपर्ने माग समितिमा उठेको छ।सेनाभित्रको भ्रष्टाचारले लोकतन्त्र नै खतरामा परेको उल्लेख गर्दै सांसदहरुले समितिमा छलफल गरी छानबिन गर्नुपर्ने माग सांसदहरुले गरेका हुन् । नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले सेनाभित्रको भ्रष्टाचार सुशासन अन्तर्गत पर्दैन भनेर नुहने बताउँदै यसबारेमा समितिमा बृहत छलफल हुनुपर्ने बताए।

नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि छानविन हुनुपर्ने माग समेत उठेको छ। संघीय संसदको राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानसेनापति क्षेत्रीमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण विभागलाई निर्देशन दिन राय पेश भएको छ।

क्षेत्रीले पदको दुरुपयोग गरेर अकुत सम्पति कमाएको र भ्रष्टाचार गरेको भन्दै छानविनका लागि राज्यव्यवस्था समितिमा निवेदन परेको थियो। उनले पदको दुरुपयोग गरी कमाएको रकम राष्ट्रियकरण गरी कानुनी कारवाही गर्नु पर्ने, २०६० सालको तत्कालीन द्वन्द्वमा परेकाले पेन्सनबाहेक अन्य सेवा लिन नपाएको, आर्मी कल्याणकारी कोषबाट तलब भत्ता लिएको लगाएतको उजुरी परेको थियो।

उजुरीमाथि सुनुवाइ गर्दै संसदको एक उपसमितिले आफ्नो प्रतिवेदन रायसहित बुझाएको हो । उपसमितिमा सांसद रेखा शर्मा, नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेका छन्।

यसैगरी सेनाको मुख्यालय पुनःनिर्माणको क्रममा व्यापक भ्रष्टाचार भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उजुरीमा उच्चस्तरीय छानबीन टोली गठन गरी दोषीलाई कारबाहि गर्न माग दाबी गरिएको छ।