पुरिएका प्रहरीको चिन्ता कसले गर्ने ?


Friday, 30 Jun, 2017 12:00 AM

 वसन्तराज कुँवर
हालै चितवनमा बाटो खुलाउँदा दुई प्रहरीको मृत्यु भएको र दुई जना हराइरहेको समाचार सुनेँ । गहिरो दुःख लाग्यो । म एसपीको रूपमा सुर्खेतमा कार्यरत रहँदा एसएलसीको जाँचको प्रश्नपत्रहरू लिएर गएका प्रहरीहरू एम्बुसमा परे र ६ जनाको मृत्यु भयो । त्यस मृत्यु हुनेमा मेरो बडीगार्ड पनि थिए । त्यस दिन म खुब रोएँ । मध्यपश्चिमका पहाडी जिल्लाहरूमा एम्बुसमा परी मारिएका प्रहरीहरूको शव हेलिकप्टरमा लोड भएर सुर्खेत ल्याइन्थ्ये । रगतमा लतपत लासहरू हेलिकप्टरबाट ओराल्ने बित्तिकै त्यहि लतपत रगतमा टेकेर अर्को टोली त्यसतर्फ रवाना हुन्थे । तिनलाई देख्दा म आफु निक्कै कायर भएको महसुस गर्दथेँ किनकी उनीहरू साथीहरूको लास र रगत नहेरी ड्युटी गर्ने स्थानमा जान आतुर देखिन्थे । २०४८ को आन्दोलनमा निर्दोष प्रहरीहरू कुटी–कुटी मारिए । ठेलामा घुमाइए । तिनले पानी पनि भनेका र मलाई बचाऊ भनी अधिकृतहरूलाई सकी–नसकी हात जोडी अनुरोध गरेका आवाज अझै मेरो कानमा गुन्जिन्छ । चाहे जनआन्दोलनमा होस् वा चुनावमा, भिड नियन्त्रण गर्दा होस् वा राजनीतिक दलले सृजना गरेको अस्थिरतालाई सामान्य बनाउन, चाहे अपराधीलाई पक्रँदा होस् वा साधुलाई जोगाउँदा, तल्ला प्रहरीहरू धेरैले ज्यान गुमाएका छन । चाहे झरीमा होस् वा शीतमा, गर्मीमा होस् वा जाडोमा, फुसको छाप्रोमा बसेर होस् वा पालमा उनीहरू निरन्तर ड्युटी गरिनै रहेका हुन्छन् । म वर्दियामा इन्स्पेक्टर थिएँ । एकरात म उनीहरू सुत्ने जवान ब्यारेकमा गएँ । उनीहरूको खाट पसिनाले निथ्रुक्कै भिजेको थियो र पसिना बगेर भुइँसमेत लतपत भएको थियो । नाङ्गै सुतेका ती प्रहरीहरूका जिउभरि घमौरै घमौरा थिए । मैले टर्चलाइट बाली एक एकलाई हेरेँ । भोलिपल्ट भारतमा आफ्नै खर्चमा पंखा किन्न पठाएँ । बत्ती सधैँ आउँथेन । बिजुली दिने हाकिमलाई बेलुका जेनेरेटर चलाएर भए पनि केहि समय बिजुली दिन अनुरोध गरेँ । उनीहरू घर, परिवार छोड्छन । बच्चा बढेको देख्न पाउँदैनन् तर पनि सिपाहीदेखि सईसम्मलाई सरकार वा विभागसँग कुनै गुनासो छैन । उनीहरू सिनियरलाई उछिन्न वा जसरी भए पनि माथिल्लो पदमा उक्लन आफ्नै साथीहरूविरुद्ध षड्यन्त्र गरिरहेका पनि छैनन् । उनीहरू ढुंगा खाने ठाउँमा पनि छन् र बाढी पहिरो गएको ठाउँमा पनि छन् । मलाई लाग्छ प्रहरी संगठनका खम्बा भनेका यहि सिपाहीदेखि सई सम्मका बहादुर, इमान्दार, राष्ट्रसेवक प्रहरीहरू नै हुन् । यी १०० प्रतिशत प्रहरी भएर काम गरिरहेका छन् । यिनकै भरमा शान्ति सुरक्षा कायम छ ।

यसभन्दा माथि इन्स्पेक्टरदेखि डीएसपी र एसपीसम्मका अधिकृतहरू समाजप्रति आफुलाई जवाफदेही ठान्दछन् । उनीहरूले समाज सुरक्षाको महत्वपूर्ण जिम्मेवारीको बोझलाई काँधमा थापेका छन् । यस पदलाई केहि राम्रा काम गरौँ भन्ने पनि छ तर यो पदभित्र १५ देखि २५प्रतिशत व्यक्तिगत स्वार्थ पनि छ । घरजम गरी हालूँ, पदोन्नतिमा माथि नम्बरमा परौँ, सरुवा राम्रै ठाउँमा गराउँ । यी २५प्रतिशत निजी स्वार्थले गर्दा उनीहरू चाकडी गर्न, उपहार दिन, नेताकहाँ पहुँच बनाउन, पत्रकार व्यालेन्स गर्न र धन कमाउन बाध्य हुन्छन् । उनीहरू सईभन्दा मुनिको पदजस्तो पूरै १०० प्रतिशत आदर्श प्रहरी भएर बाँच्न सक्दैनन् । व्यक्तिगत स्वार्थका कारण उनीहरू २५प्रतिशत त्यो पदलाई आफ्नो भलाइका लागि उपयोग गर्छन् तर ७५ प्रतिशत समाजका लागि दिन्छन ।

त्यसपछि माथिल्लो दर्जामा आउँछ एसएसपप् र डीआइजी । यो पदमा बसेर देशको लागि काम केवल ५०प्रतिशत मात्र हुन्छ । पचास प्रतिशत धन कमाउने, विरोधी ढाल्ने, नेतालाई आफ्नो बनाउने, पत्रकारलाई आफु अनुकूल प्रयोग गर्ने, आफूमाथि जानका लागि कसैलाई बिगार्नै पर्ने भए त्यसमा ग्राइण्ड डिजाइन गर्ने, प्रहरीका उच्च तहकाहरूसँग गुट मिलाउने, व्यापारीहरूसँग परेको बेलामा पैसा दिन साँठगाँठ गर्ने, सकभर तक्मा भिरी हाल्ने, अलि कमाई हुने ठाउँमा जाने, कामको प्रचार जोडतोडसँग गर्ने–गराउने कार्यमा नै यो दर्जाको समय खर्च हुन्छ । त्यसैले यो पदको व्यक्ति लामै समय बिदा बसे वा तालिममा गए पनि साधारण प्रशासनमा असर पर्न सक्छ तर शान्ति सुरक्षा त स। ई। भन्दा मुनिकाले नै धानी रहेकै हुन्छन् । एसएसपी र डीआईजी ५० प्रतिशत समाजका लागि काम गर्छन् भने ५०प्रतिशत आफ्नै लागि । त्यसभन्दा ठूलो पद आउँछ– एआइजी । मेरो अनुभवमा यो पदका मान्छेले समाजका लागि ३० प्रतिशत भन्दा बढी काम गर्दैनन् । ७० प्रतिशत एआइजीको ध्यान खाली कसरी आइजी हुने, त्यो हुन नसके कसरी प्रशासन मेट्रोमा मानवश्रोत वा त्यो पनि नभए तालिम केन्द्रमा बस्ने भन्ने मै बित्छ । अझ बढी समय ३० वर्षे कसरी हटाउने भन्नेमा खर्च हुन्छ । एआइजी पदपछि राखिएको हो । पहिला डीआईजीबाट नै आइजी हुन्थे । मैले महसुस गरेको प्रायः एउटै व्याचका मान्छे आइजी र एआइजी हुन्छन् । त्यहाँ सधैँ कमाण्डमा गडबडी देखिन्छ । रमेस चन्द आइजी हुँदा रवीन्द्रप्रताप मिटिङ्गमै जान्थेनन् रे । उपेन्द्रकान्त अर्याल आइजी हुँदा राजेन्द्र भण्डारी भाग लिन्थेनन् रे । एउटै ब्याचकाले एक अर्कालाई मभन्दा ऊ काबिल थियो त्यसैले ऊ आइजिपी भएको ठिक हो भनेर मान्न सक्तैनन् । त्यसैले यस्तो समयमा ९ एउटै व्याचको आइजी र एआइजी हुँदा सधैँ तनाव भइरहन्छ । आइजीको कुरो एआइजीले काट्छन । कुनै एआइजी जो त्यति महत्वाकांक्षी छैन त्यसलाई आइजीले च्यापी प्रशासन वा सरुवा बढुवा गर्ने स्थान वा मेट्रोमा राख्छन् । प्रतिस्पर्धी अलि जब्बर नै भए तालिम केन्द्रमा बसोस्, खाओस् हेडक्वार्टरतिर आउँदै नआओस् भनी त्यता पोस्टिंग गर्छन् । खतरानै पर्ने भयो भने प्रहरीको दुनियाबाट टाढा सुरक्षा परिषद्तिर पठाइदिन्छन् । त्यसैले मैले के देखेँ भने एआइजी पद नेपालको शान्ति सुरक्षाको क्षेत्रमा एउटा परिवर्तन गराउने वा उनको प्रभाव र व्यक्तित्वले समाजलाई प्रत्यक्ष फाइदा पुग्ने कहिल्यै बनेन । यो पदको केवल तीनवटा उघेश्य रह्यो । पहिलो कसरी माथिकालाई पछारेर नै भए पनि इतिहासमा आइजी भई फोटो टास्ने, दोश्रो म्याद थप गरी कसरी अलि बढी जागिर खाने र तेश्रो धन आर्जन कसरी गर्ने । बाँकी यो पदमा रहनेले अलि चुरीफुरी देखाए आइजीनै दुस्मन बनी हाल्दछन । समग्रमा भन्नुपर्दा एआइजीको समय म आइजी भएको भए यसो गर्थे, उसो गर्थे भन्नेमै बित्छ र त्यहि आशमा पत्रकार, नेता, व्यापारीहरूलाई ब्यालेन्स गर्दागर्दै तिनको समय जान्छ । यो पदको मान्छे वर्षमा ७० प्रतिशत दिन बिदामा रहे पनि शान्ति सुरक्षामा केहि असर पर्दैन । प्रशासनिक क्षेत्रमा चाहिँ असर पर्न सक्छ ।

अब आउँछ आइजी आइजिपी नेपालजस्तो देशमा धेरैसँग सरोकार राख्दछन् त्यसैले त्यो पदमा पुग्नु अघिनै नेता, पत्रकार, प्रशासनहरूले उनलाई कागती निचोरेझैँ गरी निचरिसकेका हुन्छन् । उनको समय सबलाई चित्त बुझाइ आफ्नो पद सुरक्षा गर्नुमै बित्छ । प्रहरीको वास्तविक काम उनी २५ प्रतिशत मात्र गर्दछन् । ७५ प्रतिशत समय भोज खाने र खुवाउने, पैसा जम्मा गर्ने र बाँड्ने, चाकडी, थामथुम, विरोधीहरूको चियो चर्चा गर्दागर्दै बित्छ । उनलाई आफ्नै कर्मचारीमा पनि सबै आफ्नो लाग्दैनन् । आइजीले समग्र देशको सुरक्षामा एक नयाँ दृष्टिकोण विकास गरी लागु गर्नै सक्तैनन् किनकी उनी आफैँनै भित्रभित्र असुरक्षित महसुस गरिरहेका हुन्छन् । आइजिपी वर्षमा ७५ प्रतिशत समय विदेश बसे पनि शान्ति सुरक्षामा केहि असर पर्दैन । विगतमा हामीले दारुको नसामा कैयौँ दिनसम्म कार्यालय नटेक्ने श्यामभक्त थापाजस्ता आइजी देखेकै छौँ । उनी अफिसै नगए पनि शान्ति सुरक्षामा केहि फरक परेन । म्याद थप्ने र आफैलाई ढालेर कुर्सी छिन्न खोज्नेलाई रोक्ने प्रयास गर्दागर्दै आइजीहरूको ७५प्रतिशत समय जान्छ ।

अब माथिल्लो पदको यस्तो हालत भएको अवस्थामा विचरा चितवनमा पुरिएका असई र जवानलाई कसले सम्झने ? तिनको घरमा को पुगिदिने, तिनका आमा, श्रीमती, छोरा–छोरीको अवस्था बुझ्ने फुर्सत कसलाई नै होला र ? एउटा कल्याण शाखा भन्ने छ, त्यसले पनि अरूको भन्दा आइजी र माथिल्ला पदकै कल्याणबारे बढी सोच्छ । डाफरमा ट्यांक किनी कमिसन खान्छ । त्यो शाखाले चितवनमा पुरिएर मर्ने तल्ला कर्मचारीको दुःख के बुझ्ला ? त्यसैले मलाई लाग्छ जति उच्च पदमा प्रहरी अधिकृतहरू पुग्छन्, त्यति नै स्वार्थी र आत्मपरक बन्छन् । उनीहरूलाई वीरगति प्राप्त गरेका, अंग–भंग भएका, दुःख पाएका, रोग–व्याधले पीडित भएका तल्ला दर्जाको जीवन बुझ्ने फुर्सद पनि हुँदैन र इच्छा पनि । त्यसैले मेरो प्रहरी प्रधान कार्यालयसम्म अनुरोध छ कि तपाईहरू एउटा फन्ड पूर्वप्रहरी संगठनलाई दिनुहोस् र हामी त्यो फन्डबाट कर्तव्यका दौरानमा वीरगति प्राप्त गरेका लगायत माथि उल्लेख गरेझैँ समस्यामा परेकाहरूको तल्ला प्रहरीहरूको घरमा गएर प्रहरी महानिरीक्षकज्यू र उच्च अधिकारीहरूले पठाई आएका हौँ भनी फुल दिनेछौँ, संवेदना दिनेछौँ र महसुस गराइदिनेछौँ कि तपाईको छोरा, बुवा, श्रीमानले वीरगति प्राप्त गरे पनि प्रहरी संगठन तपाईको साथमा छ । तपाइँहरूको दःुख–सुखमा हामी साथमा छौँ । नत्र भने प्रहरी प्रधान कार्यालयभित्रै एउटा संरचना बनाउनु होस् जसले यस्तो काम गरोस् । तपाईहरू बुझ्नुहोस् यहाँहरूको कुर्सी त्यहि तल्ला दर्जाको काँध, रगत र त्यागमा अडेको छ । तल्ला दर्जाको सम्मान गर्न सिक्नुहोस् । पहिरोभित्र पुरिएका प्रहरीको परिवारको पनि कसैलाई चिन्ता होस् ।

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top