उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू


Sunday, 3 Dec, 2017 12:00 AM

वसन्त कुँवर
मैले प्रहरी भएर शपथ लिँदा राजनीति गर्छु भन्ने वाक्य थिएन । त्यहाँ निष्पक्ष हुन्छु भन्ने चाहिँ थियो । संविधानको पालना गर्छु भन्ने थियो तर एउटा पार्टीको झण्डा बोक्छु वा त्यो दलको लागि मेरो पदको दुरूपयोग गर्छु भन्ने थिएन । अहिलेकोे शपथमा के छ मलाई थाहा छैन तर पहिला हामीले जागिर खाँदा लिने शपथमा प्रहरीको बर्दी भिरेपछि राजनीतिबाट टाढै रहनुपर्ने बाध्यता र कर्तव्य थियो । प्रसंग प्रहरीको बर्दी भिरेर राजनीति गर्ने प्रक्रिया सुरु भएको बारेमा छ । २०४८ साल पश्चात बहुदल आएपछि नै यो विकृतिको सिलसिला सुरु भयो । त्योभन्दा पहिला हामी प्रहरी अधिकृतले को गृह सचिव छन्, को गृहमन्त्री छन् वा को प्रधानमन्त्री छन् बुझ्न तिनको घरमा जान जरुरी थिएन । प्रहरी महानिरीक्षक नै हामी प्रहरी अधिकृतका लागि अन्तिम व्यक्ति हुन्थे । जे दिन्थे उनले चाहेकालाई दिन्थे । उनको मर्जीविना कुनै काम हुन्थेन । कोहीकोहिले दरवारका सेना तथा कर्मचारीसँग सम्बन्ध बढाई भनसुन गराएरे भन्ने सुनिन्थ्यो तर प्रधानमन्त्री वा गृहमन्त्रीहरू कहाँ भनाउनु जानु पर्थेन । त्याहाँबाट भनाएर सरुवा–बढुवा भयो रे भन्ने पनि ज्यादै कम सुनिन्थ्यो । भनसुन गराएर सिनियर हुन पनि अलि गाह्रै थियो । सिनियर हुनलाई तालिम चाहिन्थ्यो, तक्मा, दुर्गममा बसेको कुराको पनि ठूलो महत्व हुन्थ्यो ।

२०४८ सालपछि माथिल्ला पदका मान्छे स्वयम्नै राजनीतिक व्यक्तिलाई हातमा लिएर दुनो सोझ्याउन लागे । सुरुमा राजनीतिज्ञहरू प्रहरी संगठनसँग डराउँथे, तर माथिल्ला तहकाले नै छिटो वा उछिनेर आइजी हुने महत्वकांक्षा लिएपछि उनीहरूले राजनीतिज्ञलाई प्रभावमा पार्ने काम गरे । पहिलो प्रभाव मलाई जिताए हजुरलाई सहयोग हुन्छ भने । त्यसपछि पैसा पनि दिन सक्छु भनी खरीद–बिक्री र महिनावारी बुझाउने सम्म गरेर पैसा दिन थाले । राजनीतिज्ञ अझ गृहमन्त्री र तिनका श्रीमतीलाई यस्तो चटक गरिदिएकी उनीहरू लठ्ठ परे । तरकारीदेखि बँदेलसम्म दहीदेखि ह्विस्कीसम्म, पैसादेखि जग्गासम्म घरदेखि गाडीसम्म उपल्ला तहका प्रहरीहरूले गृहमन्त्रीलाई उपहार दिन थाले । गृहमन्त्री र तिनका परिवार यो मान–सम्मान र उपहार देखेर भाउन्न नै भए । उनीहरूले त्यस्ता प्रहरीका हाकिमहरूलाई आफ्ना मान्छे छान्न थाले । माथिल्लाकाले त्यो गरेको देखेपछि तल्लाले पनि त्यहि सिको सिके । स्थिति यस्तो आयो की प्रहरीहरूले नै गृहमन्त्री भन्ने पदलाई यतिसम्मको शक्तिशाली बनाई दिएकी तिनले बनाउनै नहुनेलाई आइजिपी बनाउन र हटाउनै नहुनेलाई आइजीबाट हटाउन किन्चित पनि धक नमान्ने भए । प्रहरीले जस्तो उपहार, सेवा र आतिथ्य अन्य मन्त्रालयका मन्त्रीहरूले पाउँथेनन् । रक्षामन्त्रीले पनि पाउँथेनन् । यस्ता अभ्यासले नित्तान्त रूपमा प्रहरी महानिरीक्षककोे नियन्त्रणमा रहेको प्रहरी संगठन मन्त्रालय र गृहमन्त्रीको पाउमा पुग्यो ।


उच्च तहका अधिकृतहरूको व्यक्तिगत स्वार्थका कारण क्रमशः प्रहरी संगठन गृहको पकडमा पुग्न थाल्यो । उच्च प्रहरी अधिकृत एउटा फुली थाप्न राजनीतिज्ञसामु यतिसम्मको त्वम् शरणम् गर्न थालेकि उनीहरू केबल केबल आफ्नो भलाइका लागि सम्बन्धित सत्तामा रहेको राजनैतिक दल र मन्त्रीहरूलाई उपहार र खानापिना मात्र होइन व्यक्तिगत र पार्टीका लागि भनी ठूलो रकम बुझाउनसमेत तयार हुन थाले । राजनीतिज्ञहरूले जब देखे कि यी प्रहरीहरू एकतह पदोन्नतिका लागि मेरो चाकडीमात्र होइन पैसा, गाडी, घर, जमिनसमेत दिन तयार हुन्छन्, त्यसपछि तिनले प्रहरीका उच्च हाकिमलाई निम्न नैतिकताका र स्वार्थी ठान्न थाले । राजनीतिज्ञले बुझेकि एकतह पदोन्नतिका लागि यिनले जे पनि गर्छन्, त्यसैले मज्जाले शोषण किन नगर्ने रु । यो कुरा बुझेपछि माथिल्लो तहको पदोन्नतिमा पैसाको विषय खुल्लमखुल्ला टेण्डरझैँ बढाबढ हुन थाल्यो । उपहार, नगद र राजनीतिक दललाई जिताउनेसम्मको प्रस्ताव प्रहरीबाटै राजनीतिज्ञलाई जान थाल्यो ।


आइजी हटाउन यति रकम नयाँ बनाउन यति । एआइजी बनाउन यति पदोन्नतिमा माथिल्लो नम्बरमा ल्याउन यति । बेलाबेलामा हटाइदिउँ कि क्या हो रु भनेर धम्की दिने र धम्की शान्त गर्नलाई यत्ति भन्ने अभ्यास सुरु भयो । क्रमशः आइजी वा अन्य पदमा पदोन्नतिको आधार प्रहरी ऐन नियम होइन दलको कार्यकर्ता भएर काम गर्ने वचन र प्रतिबद्धता तथा अरूको भन्दा ठूलो रकम बुझाई प्रहरी प्रशासन पाउमा चढाउने हुन थाल्यो । लौ त भनौँ भने आइजी मोतिलाल बोहराको समयसम्म राजनीति प्रयोग गरी बोहरा सा’बले आइजी पद पाए पनि दललाई नै आर्थिक सहयोग गर्ने पदोन्नतिमा पैसा तिर्ने र चुनाव हराउन तथा जिताउन प्रहरी प्रशासनलाई दुरूपयोग गर्ने अभ्यास चाहिँ झ्याङ्गिएको थिएन । यो झ्याङ्गियो मोतीलाल बोहरा सा’ब गएपछि । बोहराका पालामा केहि विकृति भित्रिए तर झ्याङ्गिएको थिएन यो झ्याङ्गिन थाल्यो मोतीलाल बोहराको अवकाशपछि । त्यसपछि लगभग प्रहरी संगठन कहिले काँग्रेस कहिले एमाले भयो । चुनाव जिताउने हराउने जिम्मा प्रहरीले लिन थाले । मैले आफैँले प्रहरी अतिरिक्त महानिरीक्षकहरूले संसद्मा सरकार ढाल्न र बचाउन सांसद लुकाउने, भगाउने कार्यमा प्रत्यक्ष संलग्न भएको देखेँ ।


मैले प्रहरीमा एसएसपी पदसम्मको अनुभव गरे । डिएसपी हुन जेल प्रहरी नियम ऐनले वृत्तविकासमा काम गरेको थियो । म तालिम केन्द्रमा थिए र तालिम केन्द्रका प्रशिक्षकले माथिल्लो नम्बरमा पदोन्नति पाउँथे । मैले पनि पाएँ तर एसपी हुँदा अन्याय सुरु भइसकेको थियो । काँग्रेस कम्युनिष्ट वा गृह प्रशासकका आफन्त हुन जरुरी भइसकेको थियो । डिएसपी हुँदा निक्कै माथि भएको म एसपी हुँदा त बेपत्ता तल पुगेँ । त्यसताका तालिम सालिमको नम्बर त कता हो कता भइसकेको थियो । बालुवाटार, सिंहदरवार र नक्साल आइजी क्वाटरको नजिक हुनुनै पदोन्नतिको आधार भइसकेको थियो । म एसएसपी हुँदा त गृहमन्त्रीको मात्र होइन गृहसचिवको घर बनाउनसमेत बालुवा, छड पठाउनु पर्ने भइसकेको थियो । एसएसपीबाट माथि जान त पैसा बुझाएर दलको बिल्ला भिर्नुपर्ने वा आइजिपीको गुटमा रहेर आइजी बचाउने र आइजिपीले त्यो पद प्राप्त गर्न गरेका आर्थिक प्रशासनिक वाचा पूरा गर्न हनुमान भएर काम गर्नुपर्ने भइसकेको थियो । आजको दिनसम्म आइपुग्दा त पदोन्नतिमा लिलाम बढाबढदेखि अदालत र अख्तियारको प्रयोग गर्नेसम्मको रणनीति देखिएको छ । यो सब विकृतिको कारण खोज्दै जाने हो भने उत्तर एउटै मिल्छ उच्च प्रहरी अधिकृतको जसरी भए पनि माथिल्लो पदमा उक्लने चाहना । माथिल्लो पदमा उक्लिन आजका प्रहरीहरूले फुली लगाएका राजनीतिज्ञ हुनपर्ने बाध्यतानै आयो ।


हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।


त्यसैले जहाँसम्म दुई डिएसपीमाथि औँला उठाइएको छ त्यो गलत छ । औँला अन्तै उठ्नु पर्छ । उच्च तहको अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू ।

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top