दोस्रो चरणको निर्वाचन :- तीन घेराको सुरक्षा, हवाई र जमिनबाट गस्ती, ९ सय ५१ पक्राउ


Wednesday, 6 Dec, 2017 12:00 AM

ईश्वरराज ढकाल
काठमाडौं
-सरकारले  बिहीबार हुने दोस्रो चरणको निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा बनाएको छ। तीन घेराको सुरक्षा व्यवस्थाअनुसार मतदानस्थल, उम्मेदवार र मतदाताको सुरक्षामा खटिएका तीन सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरेको छ। निर्वाचनमा ६४ हजार २० नेपाली सेना, ६८ हजार ६ सय ७८ नेपाल प्रहरी, ३२ हजार ९१ जना सशस्त्र प्रहरी परिचालित हुनेछन्। त्यसबाहेक हवाई र जमिनबाट गस्ती गर्न छुट्टै सुरक्षाफौज तैनाथ गरिएको छ।

दोस्रो चरणअन्तर्गत प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा म्यादी प्रहरीसहित झन्डै २ लाख जनशक्ति परिचालन हुने भएको छ। दोस्रो चरणको निर्वाचनमा मतदाता, मतदानस्थल र उम्मेदवार धेरै भएकाले पहिलो चरणको भन्दा धेरै सुरक्षाकर्मी परिचालित हुने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले सबै मतदातालाई भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न बढी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

 ‘सबै मतदानस्थलमा सुरक्षाकर्मी परिचालित भइसकेका छन्। थप सुरक्षाका लागि रिजर्भ फोर्स तयारी गरेका छौं।’ दुवाडीले भने । गृहले दाबी गरेको सो जनशक्ति रिजर्भ फोर्ससहित हो। दुवै चरणका निर्वाचनमा करिब ३ लाख सुरक्षाकर्मी परिचालित हुनेछन्।  कुनै घटना भए १० देखि ३० मिनेटभित्र तत्काल उद्धार गर्न ‘क्विक रेस्पोन्स टिम’ खडा गरिएको छ। निर्वाचनको संघारमा केही घटना भए पनि शान्ति सुरक्षाको व्यवस्था मजबुत रहेको दाबी गर्दै गृहले ‘निर्वाचन बिथोल्नेमाथि कारबाही प्रक्रिया अघि बढाइरहेको बताएको छ ।

संविधान र कानुन नमान्नेमाथि कडा कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै गृह प्रवक्ता दुवाडीले भन्नुभयो– ‘सुरक्षाको सबै उपाय अवलम्बन गरेका छौं। ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्दछौं।’ उहाँले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु नै सुरक्षा निकाय सफल भएको दाबी गर्दै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्णरूपमा सम्पन्न हुने बताउनुभयो।

निर्वाचन अवधिमा सुरक्षा निकायको हवाई गस्ती, पैदल, सादा पोसाक र ‘स्कर्टिङ’ गर्न छुट्टै सुरक्षाफौज तैनाथ हुने भएका छन्। नेपाल प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले सबै सुरक्षा निकायले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिए।

‘भारतसँग सिमाना जोडिएको स्थानमा नेपाल र भारतको संयुक्त सुरक्षा फौजले हतियारसहित चेकजाँच शुरू गरिएको छ। भारतसँग सिमाना जोडिएका सबै नाकामा उच्च सुरक्षा व्यवस्था गरिएको छ।’ उनले दुर्गममा घटना भए तत्काल हेलिकोप्टर परिचालन हुने गरी व्यवस्था मिलाइएको जानकारी दिए।

निर्वाचन गतिविधिमा संलग्नमध्ये हालसम्म ९ सय ५१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सरकारले निर्वाचन सुरक्षार्थ निजी हेलिकोप्टरसमेत प्रयोग गर्ने भएको छ। निर्वाचनमा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले निर्वाचन क्षेत्र, मतदानस्थल र मतदाताको सुरक्षा गर्नेछ।


सरकारको तीनघेरे सुरक्षा रणनीतिअनुसार मतदानस्थलमा नेपाल प्रहरी र म्यादी प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र सम्पूर्ण मतदानस्थलको बाहिरी सुरक्षा नेपाली सेनाले गर्नेछ। नेपाली सेनाले दोस्रो चरणको निर्वाचन हुने सम्पूर्ण जिल्लामा फौज तैनाथ गरिसकेको छ। सेनाले बाहिरी घेराको सुरक्षाका अलावा मतदानपछि सम्बन्धित स्थानमा मतपेटिका ढुवानी गर्नेसम्मको जिम्मा लिएको छ।

सेनाका प्रवक्ता सहायक रथी नैनराज पाण्डेले सेनाको जिम्मेवारीभित्र पर्ने सम्पूर्ण सुरक्षा व्यवस्था गरिसकेको जानकारी दिए।  ‘पहिलो चरणमा २८ हजार सेना परिचालन गरेका थियौं, दोस्रो चरणमा ३६ हजार परिचालित छन्। आवश्यकता हेरेर थप सेना रिजर्भमा राखिएको छ।’

निर्वाचन विरोधी गतिविधि बढेपछि सेनाले मतदान केन्द्रमा उच्च सतर्कता अपनाएको छ। निर्वाचन सुरक्षार्थ सेनाले पाँचवटै क्षेत्रका हेलिकोप्टर तैनाथ गरिसकेको छ। आवश्यक परेको अवस्थामा सबै हवाईसाधन परिचालन गर्ने गरी तयारी अवस्थामा राखेको छ।

सुरक्षाको अवस्था हेरेर थप सेना परिचालन गर्ने योजना रहेको जानकारी गराउँदै प्रवक्ता सहायक रथी दाहालले निर्वाचन सुरक्षाका लागि नेपाली सेना तयारी अवस्थामा रहेको जानकारी दिए। सशस्त्र प्रहरी बलले पनि आफ्ना सबै स्थानमा सुरक्षा फौज तैनाथ गरिसकेको जनाएको छ। तीनै सुरक्षा निकायले अति संवेदशील, संवेदनशील र सामान्य अवस्था भएका निर्वाचन क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था गरेको छ।

सशस्त्र प्रहरीले भने दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा २८ हजार सशस्त्र प्रहरी खटाएको छ। सशस्त्रले निर्वाचन कार्यालय, मतदाता र मतपेटिकाको सुरक्षाको जनशक्ति परिचालन गरेको छ, सुरक्षा आवश्यकता हेरेर थप परिचालन गर्ने तयारी पनि सशस्त्रले गरेका छ। सशस्त्रले सबै निर्वाचन क्षेत्रको सदरमुकाममा सुरक्षा बेस क्याम्प, क्षेत्रमा क्षेत्रीय सुरक्षा बेस क्याम्प स्थापना गरिसकेका छ।

नेपालसमाचारपत्र

बिचार

उच्च प्रहरी साथीहरूले बुझ्नु पर्छ, साथी खुसीका श्रोत हुन्

हामीले यसो गर्दा हाम्रो एउटा साथीको जागिर जान्छ भन्ने संवेदना उनीहरूमा पटक्कै भएन । बिल्कुलै संवेदना शून्य । न माया, न दया, केवल रिस, ईष्र्या, डाहा, छटपटी मानौँ जंगली जनावर झै हिंस्रक । आफ्नै ब्याचको एउटा साथी जो यो समयमा पदोन्नती भएन भने जागिरबाटै बाहिरिन सक्छ, त्यो अवस्था देख्दा हिजो सँगै थालमा खाएका एउटै व्याचका साथीहरूलाई पनि पीडा हुनुपर्ने हो तर यस्तो हुँदो रहेनछ । उल्टो त्यसलाई अवकाश गराई आफु त्यो पदमा जाने होड पो चल्दो रहेछ । मैले आफ्नै आँखाले देखेँ कि मानिस एक तह पदोन्नतिका लागि कतिसम्म निच हुन सक्दा रहेछन् । तर फेरि सोच्छु यी व्यक्ति कुनै बेला मेरा साथी थिए, हामी सँगै हास्थ्यौँ, खेल्थ्यौँ, रमाउथ्यौँ । फेरि आज यिनीहरूनै मलाई जागिरबाट निकाल्न किन यति धेरै उद्दण्ड किन भए ? के यी व्यक्ति नै खराब थिए ? वा म खराब थिएँ ? वा त्यो पद खराब थियो जुन पदले साथीहरूलाई नै दुश्मन बनायो ? अन्तमा म निष्कर्षमा पुग्छु कि वास्तवमा त्यो पद नै खराब थियो र त्यो पदमा पुग्ने चाहनाले नै उनीहरूलाई साथीसँग दुश्मन हुनमात्र तयार पारेन बल्की अनैतिक भएर आत्मसम्मान गिराउनसमेत तयार बनायो । म फेसबुक हेर्दै थिएँ ।

समाचार स्रोतको संरक्षण

पत्रकारलाई समाचारको स्रोत खुलाउन नपर्ने उन्मुक्ति किन दिइयो भन्नेतर्फ पहिला चर्चा गरौँ । एउटा कानुन व्यवसायीले आफ्ना सेवाग्राहीलाई दिएको कानुनी परामर्श अदालतमा समेत खुलाउन बाध्य हुँदैन । यस्तो कार्य प्रिभिलेज कम्युनिकेसन हो र यो गोप्य विषय हो । वकिलले के राय दियो भन्ने कुरा न त कानुन व्यवसायीले बताउन पाउँछ न त पक्षले नै । सांसदले संसद्मा बोल्दा कुनै रोकतोक नलाग्ने कारण पनि त्यही हो । संसद्मा बोल्दा कारबाही हुने अवस्था आउने हो भने स्पष्ट रूपमा बोल्न सक्दैन भनेर नै संसद्मा दिएको अभिव्यक्तिका कारण कुनै सजाय गरिनेछैन भन्ने व्यवस्थासहितको विशेषाधिकार राखिएको हो । चिकित्सकले उपचारका क्रममा दिएको स्वास्थ्य सल्लाह र रोगबारे सार्वजनिक गर्न पाउँदैन किनभने एक त ती बिरामी व्यक्तिको गोपनीयताको अधिकार छ भने अर्कातिर डाक्टरको पेसागत आचारसंहिता । त्यस्तो गोपनीयता सार्वजनिक गर्न थाल्ने हो भने चिकित्सकप्रतिको विश्वास धराशयी हुनजान्छ ।

महत्वपूर्ण वेबसाइट

प्रशासन View More..

Top