सिआइबीका १० चर्चित अप्रेसन

जनताका अपेक्षा धेरै छन् -डिआइजी नवराज सिलवाल


Saturday, 27 Aug, 2016 12:00 AM

नेपाल प्रहरीको चर्चित निकाय सिआइबीको पूरा नाम केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) हो । सिआइबीको अर्को अर्थ पनि लगाइन्छ– क्रेडिबिलिटी, इम्पार्सियालिटी र ब्रेभरी अर्थात् विश्वसनीयता, निष्पक्षता र साहसी । सिआइबीले यही तीन शब्दलाई आफ्नो प्रमुख नारा बनाएको छ ।

गम्भीर किसिमका अपराधको अनुसन्धान गर्ने उद्देश्यले ६ वर्षअघि स्थापना भएको सिआइबीले दर्जनौँ पुराना घटनाको रहस्य मात्र खोलेको छैन, देशका धेरै क्षेत्रमा प्रणालीगत सुधारमा योगदान दिएको छ । जसकारण सिआइबी राज्य तथा जनताको अत्यधिक विश्वास पाएको संस्था बन्न पुगेको छ ।

पछिल्लो समय नक्कली प्रमाणपत्रधारी चिकित्सक र पाइलटलाई पक्राउ गरेर सिआइबी चर्चामा छ । देशको मेडिकल तथा हवाई उड्डयन क्षेत्रमा कति ठूलो समस्या छ भन्ने कुरा नक्कली प्रमाणपत्रधारी चिकित्सक र पाइलटलाई पक्राउ गरेपछि प्रस्ट भएको छ । सिआइबीले ५५ नक्कली प्रमाणपत्रधारी चिकित्सक तथा एक पाइलटलाई पक्राउ गरी मुद्दा चलाएको छ । देशमा लुकेका यस्ता धेरै अपराधलाई सिआइबीले बाहिर ल्याएको छ ।

ब्ल्याक स्पाइडरमाथि पहिलो अप्रेसन
सिआइबीको पहिलो अप्रेसन ब्ल्याक स्पाइडर समूहमाथि थियो । सिन्धुलीका सन्दीप पाठक भन्ने मिलन लामाले ब्ल्याक स्पाइडर समूहका नाममा आतंक मच्चाउँदै आएका थिए । ठूला व्यवसायी तथा चिकित्सकलाई करोडौँ माग्दै धम्क्याएर उनले आतंकित बनाएका थिए ।

सिआइबीले करिब दुई महिना लामो मिहिनेतपछि उनलाई भारतमा पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसअघि सिआइबीले उनमाथिको अनुसन्धानबारे प्रहरी र पत्रकारलाई समेत खासै जानकारी दिएन । लामा त्यस्ता व्यक्ति हुन् जसले पैसा नदिने व्यक्तिलाई गोली हानेर तर्साउने गरेका थिए । सोही घटनाको विषयमा सिआइबीले पहिलो पत्रकार सम्मेलन गरेको थियो ।

विदेशसम्म पुगेर अनुसन्धान
सिआइबीले नेपालमा मात्र होइन, विदेशमा  गएरसमेत अपराध अनुसन्धान गरेको छ । दुई वर्षअघि बैंककमा तीन नेपाली अपहरणमा पर्दा सिआइबीको टोली बैंकक नै गएर अनुसन्धान गरेको थियो । त्यस्तै, भारतबाट मात्र होइन, मलेसिया  र साउदी अरेबियाबाट समेत फरार अपराधीलाई सिआइबीले पक्राउ गरेको छ । गैँडा तस्कर राजकुमार प्रजालाई मलेसिया तथा  न्यायाधीश रणबहादुर बमका सुटर सञ्जय स्माइली मगरलाई साउदी अरेबियाबाट प्रहरीले पक्राउ गरेको थियो ।

वेला–वेलामा सिआइबी विवादमा समेत आउने गरेको छ । तीन वर्षअघि ३५ किलो सुन बरामद गरेकोमा नक्कली सुराकी राखी सिआइबीका प्रहरीले पैसा खान खोजेकोमा  बदनाम भयो । त्यस्तै, गुन्डा नाइकेलाई सम्पत्ति शुद्धीकरण मुद्दा चलाउँदा पनि पक्राउ नगरी मुद्दा चलाइएको थियो ।

सिआइबीको बढ्दो लोकप्रियता
जसरी भारतमा कुनै ठूला घटनामा केन्द्रीय जाँच ब्युरो (सिबिआई) बाट अनुसन्धानको माग हुन्छ, नेपालमा पनि त्यस्तै माग सुरु भइसकेको छ । गम्भीर किसिमको घटनाको अनुसन्धानमा सिआइबी खटिने गरेको छ ।

डिआइजी नवराज सिलवाल कुनै कार्यक्रममा जाँदा सिआइबीको प्रसंग आइहाल्छ । सिआइबीले अपराध अनुसन्धानमा अपाउने फरक तरिका नै सिआइबीको सफलता भएको उनी बताउँछन् । सिआइबीलाई अझै माथि उठाउन आफूहरू लागेको उनको भनाइ छ ।  सिआइबीका संस्थापक निर्देशक एआइजी राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘कुनै पनि संस्थालाई माथि उठाउनुभन्दा त्यसलाई टिकाइराख्नु ठूलो कुरा हो, सिआइबीलाई यो स्थानबाट तल झर्न दिनुहुन्न ।’

१ रातो पासपोर्टमा सभासद्
जतिसुकै गल्ती गरे पनि नेता तथा ठूला मान्छे पक्राउ पर्दैनन् भन्ने सर्वसाधारणको धारणा थियो । तर, पाँच वर्षअघि सिआइबीले दुई बहालवाला सभासद्लाई पक्राउ गर्‍यो । सिआइबीले रातो पासपोर्ट (कूटनीतिक राहदानी) बिक्री गरेको आरोपमा पहिला दुई र पछि थप दुई गरी चार सभासद्लाई पक्राउ गर्‍यो ।

सुरुमा गायत्री साह, विपी यादवलाई पक्राउ गरी सिआइबीले मुद्दा चलायो । पछि, थप दुई सभासद् नारदमुनि राना र शिवपूजन यादवलाई समेत पक्राउ गरी मुद्दा चलाइएको थियो । उनीहरू सबैलाई अदालतले दोषी ठहर गरिसकेको छ । उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मुद्दा दायर गरेको थियो ।

सिआइबीले सभासद् मात्र होइन, त्यसमा मिलेमतोको आरोपमा अध्यागमनका कार्यालयका सहसचिवसमेतलाई पक्राउ गरी मुद्दा चलाएपछि ठूलै हंगामा भएको थियो । चारजना पक्राउ परेपछि अन्य सभासद्को राहदानी दुरुपयोग रोकिएको थियो ।

सर्लाहीका सन्तोष उप्रेतीले सभासद्लाई अस्ट्रेलियालगायत देशमा कार्यक्रममा लैजाने भन्दै पासपोर्टमा भिसा लगाएर अन्य व्यक्तिको फोटो टाँसी विदेश पठाउँदै आएका थिए । जसबापत सभासद्ले १० लाख रुपैयाँसम्म लिएका थिए ।

२. १९ अर्बको बैंकिङ घोटालाको पर्दाफास
सिआइबीको अप्रेसनपछि बैंकिङ क्षेत्रको सुशासनमा ठूलो परिवर्तन आएको छ । सञ्चालक र कर्मचारीको मिलेमतोमा कर्पोरेट भ्रष्टाचार हुँदै आएकोमा सिआइबीले स्थापनाकालदेखि नै नेपाल राष्ट्र बैंकसँग सहकार्य गरी बैंकिङ घोटालाविरुद्ध अप्रेसन चलाउँदै आएको छ ।

यो अवधिमा सिआइबीले ३१ वटा बैंक तथा फाइनान्सका एक सय १२ जनालाई पक्राउ गरेको छ । बैंकिङ कसुरमा मात्र हजारभन्दा धेरैविरुद्ध मुद्दा दायर गरेको छ । १९ अर्ब ३९ करोड ४२ लाख ६६ हजार ६ सय ३८ रुपैयाँको बैंकिङ ठगीको सिआइबीले अनुसन्धान गर्‍यो । गोरखा डेभलपमेन्ट बैंकबाट सुरु भएको सिआइबीको बैंकिङ कसुर अप्रेसनमा देशका चर्चित बैंकरसमेत फन्दामा परेका थिए ।

नेपाल सेयर मार्केट एन्ड फाइनान्स, क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स, जनरल फाइनान्स, नेपाल विकास बैंक, सम्झना फाइनान्स, प्रोगे्रसिभ फाइनान्स, युनाइनेड फाइनान्स, क्रिस्टल फाइनान्स, श्रीलंका मर्चेन्ट एन्ड फाइनान्स, एच एन्ड बी डेभलपमेन्ट बैंक, हिमालयन फाइनान्स, वैभव फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट, किस्ट बैंक, एनआइडिएसपी डेभलपलमेन्ट बैंक, किस्ट ९हाल प्रभु० बैंक, एनबी बैंक, सिभिल बैंक, हामा मर्चेन्ट एन्ड फाइनान्स, बुटवल फाइनान्स, पिपुल्स फाइनान्स, कृषि विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, प्रुडेन्सियल फाइनान्स, कुबेर मर्चन्ट फाइनान्स, मञ्जुश्री फाइनान्सियल इन्स्टिच्युट, हिमालयन बैंकलगायत वित्तीय संस्थामा भएको अनियमिततामा सिआइबीले छानबिन गरेको थियो । ठूला बैंंकर नै धमाधम पक्राउ पर्न थालेपछि बैंकिङ क्षेत्रमा सुधार आएको छ ।

३- ११ अर्बको अप्रेसन भ्वाइस फक्स
गत ३० साउनमा सिआइबीले एकपटक राजधानीका तीन स्थानमा छापा हानी कल बाइपासको काम गरेको आरोपमा दुई युवकलाई पक्राउ गर्‍यो । काभ्रेका केदार अछामी र सिन्धुपाल्चोकका सुमन श्रेष्ठलाई सिआइबीले पक्राउ गरेको थियो । केही वर्षअघि प्रहरीले हरेक हप्ताजसो कल बाइपास सञ्चालक पक्राउ गथ्र्यो । तर, यसपटक लामो समयको ग्यापपछि कल बाइपास गर्नेहरू पक्राउ परेका हुन् ।

अधिकांश कल बाइपास सेन्टर बन्द भइसकेका छन् । सिआइबीले ६ वर्षमा कल बाइपासविरुद्ध ९१ वटा अप्रेसन चलाई एक सय ६ नेपाली र ३१ विदेशीलाई पक्राउ गरेको छ । जसमा ११ अर्ब ४८ करोड ४२ लाख ६६ हजारको ८ सय ७४ बराबरको मागदाबी लिई मुद्दा दायर गरिएको छ । धेरैजसो बंगलादेशीले नै नेपालमा कल बाइपासको काम गर्दै आएका छन् । कल बाइपास गर्नेहरूबाट हालसम्म २२ हजार सिम कार्ड बरामद भएको सिआइबीले जनाएको छ । सिआइबीले सुरुदेखि नै कल बाइपासविरुद्ध अप्रेसन भ्वाइस फक्स चलाउँदै आएको छ ।

४ -शून्य सिकार वर्ष  
गैँडा तथा बाघलगायत संरक्षित वन्यजन्तुको चोरीसिकारी बढेपछि सिआइबीले फागुन २०६७ देखि यससम्बन्धी अनुसन्धानका लागि छुट्टै पिलर नै स्थापना गरेको थियो । त्यसयता चार सय २० वन्यजन्तु तस्करलाई सिआइबीले पक्राउ गरिसकेको छ । त्यो वर्षयता गैँडा चोरीसिकारी शून्य भएको छ । जुन विश्वमै नमुना बन्न पुगेको छ ।

वन्यजन्तु तस्करविरुद्ध सिआइबीले विभिन्न देशसँगको सहकार्यमा अप्रेसन कोब्रासमेत चलायो । अहिले पनि सिआइबीले अन्तर्राष्ट्रिय निकायसँग मिलेर वन्यजन्तु तस्करीविरुद्ध अप्रेसन चलाउँदै आएको छ । हालसम्म सिआइबीले एक सय ७८ वटा अप्रेसन सञ्चालन गरिसकेको छ ।

गैँडामा शून्य सिकार वर्ष मनाएपछि आफूहरू अब बाघमा पनि आगामी वर्षलाई शून्य सिकार वर्षका रूपमा मनाउने योजना अघि बढाइएको सिआइबीमा सुरुदेखि नै वन्यजन्तुसम्बन्धी अपराधको अनुसन्धान गर्दै आएका डिएसपी प्रवीण पोखरेल बताउँछन् ।

५- गुन्डा नाइकेको करोडौँ सम्पत्ति
कुनै समयमा डान्सबारमा बाउन्सरका रूपमा काम गर्ने गुन्डाहरू पछिल्लो समय करोडपति भइसकेका छन् । महँगा गाडी र ठूला महलमा उनीहरू बस्ने गरेका छन् । पैसाकै बलमा हरेक क्षेत्रमा उनीहरूको राजनीतिक पहुँच बनिसकेको छ ।

यस्तो अवस्थामा सिआइबीले प्रमुख गुन्डा नाइकेको सम्पत्तिको छानबिन मात्र गरेन, उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट गुन्डागर्दीबाट कमाएको करोडौँ सम्पत्ति जफतको माग राख्दै मुद्दासमेत दायर गर्‍यो । सिआइबीकै पहलमा गुन्डा नाइकेहरू गणेश लामा, दीपक मनाङे, मिलन चक्रे, पर्शुराम बस्नेत र अभिषेक गिरीविरुद्ध मुद्दा चलाइयो । जुन मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ । जसले गुन्डागर्दी गरेर धेरै पैसा कमाउँदा पनि मुद्दा चल्ने सन्देश दियो, केही हदसम्म भए पनि गुन्डागर्दी नियन्त्रणमा उक्त पहल सकारात्मक भयो ।

६ -न्यायाधीश बम हत्याको रहस्य
सर्वोच्च अदालतका बहालवाला न्यायाधीश रणबहादुर बमको हत्या नेपाल प्रहरीका लागि ठूलो चुनौती थियो । लामो समयसम्म पनि उक्त घटनाको अनुसन्धानमा असफल हुँदा प्रहरीको छविमा दाग लागेको थियो ।

तर, पुस २०७१ मा प्रहरीले उक्त दाग मेट्यो । घटनामा संलग्न नाइकेदेखि सहयोगीसम्मलाई सिआइबीले पक्राउ गरेर घटनाको वास्तविकता बाहिर ल्यायो ।

न्यायाधीश बमको १८ जेठ २०६९ मा ललितपुरको युएनपार्कनजिकै गोली हानी हत्या भएको थियो । बंगलामुखी मन्दिरको दर्शन गरी अदालत जाने क्रममा उनको गाडी रोकी गोली हानिएको थियो । घटनामा उनका साथी राम गिरी तथा पिएसओ महेश गिरीसमेत घाइते भएका थिए । न्यायाधीश बमको उपचारका क्रममा केही घन्टापछि अस्पतालमा मृत्यु भएको थियो ।

चुरे भावर एकता पार्टीका नेता बाबु थापाको योजनामा न्यायाधीश बमको हत्या भएको थियो । पार्टीको अध्यक्षसम्बन्धी विवादमा न्यायाधीश बमले आफ्नो विपक्षमा फैसला गरेको प्रतिशोधमा बममाथि गोली हानेका थिए । जेलमा चिनजान भएका मगरलाई र करण चौधरीलाई उनले सुटरका रूपमा प्रयोग गरेर हत्या गरेका थिए । थापासहित चौधरी तथा घटनामा सहयोग गर्ने दीपक कर्ण पुर्पक्षका लागि जेलमा छन् ।

७- १२ वर्षपछि खुल्यो रानीबारीको रहस्य
डेढ वर्षअघिसम्म नेपाल प्रहरीको इतिहासमा असफल अनुसन्धानको नाम लिँदा रानीबारी हत्याकाण्डको नाम आउँथ्यो । तर, १ चैत २०७१ मा सिआइबीले नै उक्त जिज्ञासा पनि मेटायो ।

दोलखाका मनराज गुरुङ र रामेछापका प्रमेश चौहानलाई पक्राउ गर्दै प्रहरीले हेमन्त र उनकी श्रीमती अञ्जलीलाई घरबेटीलाई मार्न आएका सूचना चुहिने डरले हत्या गरेको खुलायो ।

३१ असार २०५९ मा रानीबारीस्थित गीता खड्काको घरमा बस्ने इन्जिनियर दम्पतीको हत्या भएको थियो भने उनीहरूको छोरी घाइते भएकी थिइन् । घरधनी खड्कालाई मार्न माथिल्लो तलामा जानुपर्ने भएकाले उनीहरूले श्रेष्ठ दम्पतीलाई मारेर माथिल्लो तलामा गएका थिए । तर, खड्का बाथरुममा लुकेकाले खड्काको हत्या योजना असफल भएको थियो । कसले खड्काको हत्या गर्न लगाएको भन्ने प्रहरीले खुलाएको छैन । पक्राउ परेका दुवैजना पुर्पक्षका लागि थुनामा छन् ।

८ - मानव बेचबिखनमा चीनदेखि अफ्रिकासम्म अनुसन्धान
सिआइबीलाई चर्चामा ल्याएको अर्को अनुसन्धान भनेको मानवबेचबिखनसम्बन्धी हो । युवतीलाई युरोप पठाउने भनेर काजकिस्तान पठाएर अलपत्र बनाउनेदेखि बिहको आवरणमा नेपाली किशोरीको चीन र कोरियामा भइरहेको बिक्रीलाई सिआइबीले बाहिर ल्याएको थियो । महिला मात्र होइन, पुरुषलाई पनि वैदेशिक रोजगारीका नाममा अफ्रिका पु¥याएर बिक्री गर्ने गिरोहलाई समेत सिआइबीले पक्राउ ग¥यो । बिहेको नाममा हुने मानवतस्करीका घटनामा सिआइबीले अनुसन्धान गरेपछि म्यारिज ब्युरोको विदेशीसँग बिहे गराएर नेपाली युवती बिक्री गर्र्ने धन्दा केही हदसम्म कम भएको छ । सिआइबीमा बसेर तीनै घटनाको अनुसन्धान गरेकोमा एसपी किरण बज्राचार्यले अमेरिकी सरकारबाट ‘ट्राफिकिङ इन पर्सन हिरो’ अवार्ड हात पारेकी थिइन् ।

९- अप्रेसन हन्टको लहर
राज्यमा कानुनी राज्यको स्थापनामा सिआइबीको अर्को योगदान हो– अप्रेसन हन्ट । अदालतले दोषी ठहर गरेर पनि फरार रहेका अपराधी समाजमा खुलम्खुल्ला हिँड्दै आएका थिए । जसले कानुनी शासनलाई नै चुनौती  दिएको थियो ।

पहिलो वर्षदेखि नै सिआइबीले यस्ता फरार अपराधीलाई पक्राउ गर्दै जेल हाल्दै आएको छ । गत बुधबारसम्मको तथ्यांकअनुसार २५ महिलासहित दुई सय ७५ जना फरार अपराधी पक्राउ परिसकेका छन् । जसमध्ये केही देशका नाम कहलिएका व्यवसायी प्रदीपराज पाण्डेलगायत छन् । उनीहरूबाट राज्यले ३ अर्ब ८५ करोड जरिवाना तथा ६ सय ८८ वर्ष कैद सजाय असुल गरिसकेको छ ।

सिआइबीले सुरु गरेको यो अभियान अहिले देशभरिका प्रहरी कार्यालयमा चलिरहेको छ । हरेक जिल्लाका प्रहरी प्रमुखले फरार अपराधीलाई पक्राउ गर्ने अभियानलाई प्राथमिकतामा राखेका छन् । सिआइबीको सक्रियताले धेरै फरार व्यक्ति पक्राउ परेको र अर्बौं रकम उठेको फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक महेन्द्र उपाध्याय बताउँछन् ।

१० - अप्रेसन क्वाक
चिकित्सकलाई नेपाली समाजमा भगवान्जस्तै मानिन्छ । तर, भगवान्को आवरणमा नेपालको चिकित्सा क्षेत्रमा धेरै डाक्टरले बिरामीको ज्यान लिँदै आएको तथ्य सिआइबीकै अनुसन्धानमा खुलेको छ । नेपालमा रहेका करिब १८ हजार चिकित्सकमध्ये दुई हजारको शैक्षिक प्रमाणपत्र नक्कली रहेको प्रहरी अनुमान छ । एक हजार चिकित्सकको प्रमाणपत्र छानिबन गरिएकोमा एक सय ५० भन्दा धेरैको नक्कली भएको खुलिसकेको छ । ५५ जना पक्राउ परिसकेका छन् । कतिपय जागिर नै छाडेर विदेश पलायन भइसकेको प्रहरीले जनाएको छ । सिआइबीले नेपाल मेडिकल काउन्सिलसँग सहकार्य गरी सबै चिकित्सकको शैक्षिक प्रमाणपत्र छानबिन गरिरहेको छ । यसले चिकित्सा क्षेत्रमा ठूलो परिवर्तन ल्याउने भन्दै सर्वसाधारणले प्रहरीको यो कामको प्रशंसा गर्दै आएका छन् । गत मंसिरदेखि सिआइबीले अप्रेसन क्वाक नाम दिएर यो अप्रेसन सुरु गरेकोमा गत फागुनदेखि नक्कली चिकित्सकलाई पक्राउ गर्न थालेको हो ।

जनताका अपेक्षा धेरै छन् -डिआइजी नवराज सिलवाल
निर्देशक, सिआइबी

विशिष्टीकृत अपराध अनुसन्धानको उद्देश्यले सिआइबीको स्थापना भएको हो । अनुसन्धानको पुरानो पद्धतिलाई यसले चिर्ने प्रयास गरेको छ । पहिला थुन्ने अनि सुन्ने परिपाटी थियो । अब पहिला सुन्ने अनि थुन्ने परिपाटी सुरु भएको छ ।

वैज्ञानिक तरिकाले अनुसन्धान गर्ने भएकाले नेपाल प्रहरीको यो संस्थाप्रति सर्वसाधारणको बढी विश्वास छ । यहाँ हरेक केस हामीलाई स्कुलजस्तो लाग्छ, केही सिक्छौँ । यहाँ कार्यरत प्रहरी पनि अपराध अनुसन्धानमा उत्साहित भएर लाग्ने गर्छन् । कसैबाट पनि यो मान्छेलाई छाडिदिनुस् भनेर दबाब आउँदैन । बरु राम्रोसँग अनुसन्धान  गरिदिनुस् भन्ने गरेका छन् । सिआइबीसँग जनताका धेरै अपेक्षा छन् । जिल्लामा  कुनै घटना अनुसन्धानमा लामो समय लाग्यो भने ‘सिआइबीमा पठाऊ’ भन्ने छ । तर, जनताको अपेक्षाअनुसार हामीसँग साधनस्रोत छैन  ।

सिआइबीले ठूला–ठूला जघन्य अपराधको अनुसन्धान गरेको छ । अहिले नक्कली प्रमाणपत्रधारी चिकित्सक र पाइलटको अनुसन्धान भइरहको छ । यसले नेपाल प्रहरीको प्रतिष्ठा बढेको छ । सिआइबीप्रतिको भरोसा बढेको छ । यो नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो । यो प्रतिष्ठा कम हुन दिनेछैनौँ । नयांपत्रिका

 

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top