डीएसपी हुँदा एसएसपी पक्राउ गर्नुपर्दा


Saturday, 29 Jul, 2017 12:00 AM

खड्गजीत बराल
प्रहरी इन्स्पेक्टर भएको दुई वर्ष पनि बित्न पाएको थिएन, डीएसपीमा बढुवा भएँ । बढुवापछिको पहिलो पोस्टिङ भैरहवा भयो । मन त्यसै रोमाञ्चित भएर आयो । किन किन भैरहवाको नाम लिनासाथ मेरो मनले अपनत्व महसुस गर्छ । त्यहाँका जनता र मुलुकका अन्य भूभागका जनता मेरा लागि समान हुन् । तर, मनको एउटा कुनामा कतै त्यो ठाउँ र त्यहाँका जनतासँग विगतमा जोडिएको सम्बन्ध र अपनत्व अगाडि उभिन आइपुग्छ । मुक्ति सेनामा आबद्ध भएर त्यहाँका जनताका सुखदुस्ख, पीरमर्कामा एक भएर लडेको विगत मेरा सामु उपस्थित हुन्छ र मलाई त्यस समयको गौरव र गर्व महसुस गराउँछ । राज्यको वैधानिक निकायको जिम्मेवारी सम्हालेर त्यहाँ पुग्दाको त्यो क्षण पनि मेरा लागि उत्तिकै रोमाञ्चित थियो । दुवै घटनालाई मैले उही रूपमा महसुस गरिरहेको थिएँ ।

सरुवा भएर त्यहाँ पुगेपछिको झन्डै दुई वर्ष कति छिटो बित्यो, पत्तै पाइनँ । जनताका माझमा जाने, उनीहरूको पीरमर्का सुन्ने र आफ्नो बलबुताले भ्याएसम्म उनीहरूका समस्या समाधानार्थ पहल गर्दैमा त्यो समय बितेको थियो । मर्चवार आसपासको क्षेत्र मात्र होइन, सिंगो भैरहवामा चोर, डाँका र सीमा क्षेत्रमा बसेर नेपाल र भारत दुवैतिर कोहराम मच्चाइरहेका समूहहरूका कारण त्यो क्षेत्र ज्यादै आतंकित थियो । जनता त्यस किसिमको आतंकसँग दिनहुँजसो लडिरहेका थिए । उनीहरूको त्यो जुझारूपनमा यसो हात थामिदिँदा मात्र पनि उनीहरू राहतको सास फेर्थे ।

समय यसरी नै बितिरहेको थियो । तर, तत्कालीन राजा महेन्द्रले आममानिस त के उच्च राजनीतिक नेतृत्वले समेत अनुमान गर्न नसकेको ‘कू’को कदम चाले र मुलुकमा एक्कासि राजाको प्रत्यक्ष शासन उद्घोष गरे । १ पुस ०१७ का दिन राजाले उक्त कदम चाल्दा म भने मर्चवार क्षेत्रका तिनै जनताको साथमा थिएँ र उनीहरूका सुखदुस्खका वेदना सुनिरहेको थिएँ । सोही दिन अपराह्नतिर त्यस क्षेत्रमा मिल सञ्चालन गरिरहेका स्थानीय एक व्यक्ति हस्याङफस्याङ गर्दै म छेउ आए र एकै सासमा भने, “राजा महेन्द्रले राजधानीमा ठूलै कदम चाले रे, हामी सबैलाई अब पक्राउ गर्ने रे १ बजारतिर यस्तै हल्ला छ । त्यसैकारण म त मिल बन्द गरेर घरतिर लागेँ ।” मैले उनलाई सम्झाएँ, “पक्राउ गर्ने मानिसलाई नै यस्तो कुरा गरेपछि तिमी बाँकी रहौला त रु तिमीलाई यदि पक्राउ नै गर्नुपर्ने अवस्था आयो भने त्यो कामको नेतृत्व मेरै कमान्डमा हुन्छ ।” मेरा कुरा सुनिसकेपछि उनी फिस्स हाँसे, “तपाईंजस्तो हामीसँग यति नजिक र सधैँ हाम्रा कुरा सुनेर सहयोग गर्ने मान्छेले हामीलाई कहाँ पक्राउ गर्नुहुन्छ रु हामीले त त्यस्तो सोच्न पनि सक्दैनौँ ।” यति भनी नसक्दै उनले आफ्नो बाटो तताइसकेका थिए ।

उनका कुराले मलाई ज्यादै गम्भीर बनायो । जनताले प्रहरीलाई आफ्नो ठान्नु त्यतिबेला ठूलै कुरा मानिथ्यो । आखिर के नै गर्नुपर्दो रहेछ र जनताको प्रहरी बन्न रु जनतासँग मिलेर काम गर्दा यो सबै सम्भव हुँदो रहेछ । एकछिन भावुक पनि बनेँ । जनतासँग यस्तो सम्बन्ध रहेका कारण कुनै कारणवश उनीहरूलाई पक्राउ गर्नुपर्ने अवस्था आयो भने के गर्ने होला भन्ने मनमा कुरा खेलाउँदै गाउँलेको एउटा घोडा टिपेर मर्चवारबाट भैरहवा फर्किएँ र सरासर बडाहाकिमको कार्यकक्षमा उक्लिएँ ।

बडाहाकिम अनुहारमा चिटचिट पसिना निकाल्दै हातमा एउटा कागज समातेर आफ्नो कार्यकक्षमा ओहोरदोहोर गरिरहेका थिए । मैले आफू आएको जानकारी गराउनासाथ उनले ‘माथिको आदेश’ भन्दै हड्बडाउँदै र दुवै हात कमाउँदै (आवा) आकाशवाणीका रूपमा प्राप्त गरेको कागजको एउटा टुक्रा मतिर बढाए । तलदेखि माथिसम्म पढेँ । धेरै कुरा केही थिएन । गृह मन्त्रालयबाट जारी गरिएको गोप्य निर्देशन रहेछ । जसमा लेखिएको थियो, ‘विशिष्ट राजनीतिक परिस्थिति सिर्जना हुन पुगेकाले उल्लिखित ६ व्यक्तिलाई तुरुन्त पक्राउ गरी हिरासतमा लिनू र यस कदमविरुद्ध कुनै व्यक्ति वा समूहद्वारा राजनीतिक क्रियाकलाप प्रदर्शन गर्न खोजे उनीहरूलाई पनि यसै आदेशका आधारमा पक्राउ गरी माथि जानकारी गराउनू ।’

पाँच जना व्यक्तिको नाममा मलाई त्यस्तो अप्ठ्यारो लागेन । तर, एक जना व्यक्तिको नामले मलाई भित्रैदेखि झकझक्यायो । मैले ती नाम दोहोर्‍याएर–तेहेर्‍याएर पढेँ । एकपटक झस्किएँ पनि, कतै आफ्नै नाम त छैन भनेर । मेरो नाम त थिएन तर मभन्दा माथिल्लो तहका प्रहरी अफिसर अर्थात् एसएसपीको नाम त्यो पक्राउ गर्नू भन्ने पुर्जामा चौथो नम्बरमा थियो । उनी नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका नातेदार थिए ।

मैले बडाहाकिमसँग सल्लाह गरेँ । यसलाई ‘ कम्प्लिकेटेड’ नबनाई समाधानतर्फ कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गर्‍यौँ । बडाहाकिमले ‘के गर्दा उपयुक्त हुन्छ, त्यही किसिमको कदम चाल्नूस् तर पक्राउ गर्न ढिला नगर्नूस् । पक्राउ गरेको जानकारी तुरुन्तै माथि गराउनुपर्छ’ भने ।

आफूभन्दा माथिल्लो तहको अफिसरलाई त्यत्तिकै पक्राउ गर्ने कुरा भएन । अझ प्रहरी प्रशासनमा त्यो कुरा झन् कम्प्लिकेटेड थियो । मैले सुझावस्वरूप बडाहाकिमलाई भनेँ, “उहाँ(एसएसपी) लाई पक्राउ गर्नुभन्दा माथिबाट बोलावट आएको छ । तपाईं तुरुन्त केन्द्रमा सम्पर्क गर्न भोलि नै काठमाडौँ जानूस् भनेर तपाईंले निर्देशन दिँदा उपयुक्त हुन्छ कि रु ”

 सल्लाह बमोजिम नै बडाहाकिमले कदम चाले र एसएसपी केन्द्रतर्फ लागे । उनी उतै गिरफ्तारीमा परे । आफूभन्दा सिनियर अफिसरलाई पक्राउ गर्नुपर्ने निर्देशन सफलतापूर्वक पूरा गर्न सकेकामा मलाई पनि सन्तोष मिल्यो ।

नेपाल साप्ताहिकबाट साभार (लेखक नेपाल प्रहरीका पुर्व प्रहरी महानिरीक्षक हुन्)

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top