देउवाको हठ ! नवराजको राजनीतिमा उदय ?


Tuesday, 19 Sep, 2017 12:00 AM

आलोक नेपाली
प्रधानमन्त्री शेरबहादुर देउवाको हठको शिकार नभएको भए नवराज सिलवाल अहिले नेपाल प्रहरीको कमाण्ड गरिरहेका हुन्थे । नेपाल प्रहरीभित्र बौद्धिक र क्षमतावान् अधिकृतको परिचय बनाएर कार्यक्षमतामा सबैभन्दा बढी अंक ल्याए पनि उनी राजनीतिक हस्तक्षेपको शिकार भए । न्यायका लागि अदालत गएपनि उनको पक्षमा अन्तिम फैसला आएन । न्यायालयको सम्मान गरिनुपर्छ तर न्यायालयले न्याय दिन्छ भन्ने विश्वासलाई यो घटनाले गलत सावित गरिदियो । सिलवालको घटना कानुनका जानकारका लागि गहिरो अनुसन्धानको विषय हुनसक्छ । लियो टल्सटयको इश्वरले सत्य देख्छन् तर पर्खनुपर्छ कथाले न्यायालयबाट अन्यायपूर्ण फैसलाको शिकार भएको पात्रको हृदयविदारक घटना उल्लेख छ । निर्दोष भइकन दोषी ठहरिएको पात्रले अन्तिम स्वास जाँदा मात्र दोषीबाट आफू निर्दोष हुनुको प्रमाण पायो । अदालतबाट होइन । नवराज सिलवालको हकमा पनि त्यही हुनसक्छ । सिवलालमाथि अन्याय गरेकोमा अन्याय गर्ने शेरबहादुर देउवाले नै पछुताउनुपर्ने दिन आउन सक्छ । बलवान् समयले त्यो दिन नल्याऊला भन्न सकिन्न ।

देउवाको हठ
शेरबहादुर देउवाले कुनैपनि हालतमा नवराज सिलवाललाई आइजीपी बन्न नदिने कसम खाइसकेका थिए । सिलवाल उनीसँग भेट्दा देउवाले असजिला प्रश्नहरू सोध्ने गरेका थिए । नेपाली काँग्रेसलाई चुनावमा जिताउने योजना उनीसँग मागेका थिए । सिलवाललाई आइजीपी नबनाउने बखेडा अनुसार उनले यसो भनेका थिए । देउवा आइजीपी प्रकरण हुँदै महाभियोग प्रकरणको झमेलामा फस्दै आफ्ना अपराधका कारण फसे । घटनाक्रमले सबै प्रकरणको अन्त त भयो तर त्यसले देउवाको राजनीतिक जीवनमा धक्का लाग्ने माहोल सृजना ग¥यो । देशका एक जना बुद्धिजीवीले पनि देउवाको यो अपराधलाई ठिक हो भनेनन् । देउवा प्रचण्डको सहयोगमा प्रधानमन्त्री त भए तर उनले बनाउन चाहेको व्यक्ति आइजीपी बनाउन असफल भए । जयबहादुर चन्दलाई बनाउन नसकेपछि प्रकाश अर्याल आइजीपी बने । सत्ता र शक्तिको व्यापक दुरुपयोग गरेपनि स्थानीय निकायको चुनावमा धक्का खाए । देउवाको गृहजिल्ला डडेधलुरा र सुदरपश्चिममा समेत नेपाली काँग्रेस पछि प¥यो । दोष कर्ण मल्ललाई दिएर देउवा उम्कन सक्नेछैनन् । दोष उनले चालेका अलोकप्रीय कदमहरू हो । देउवाले जुन उद्देश्यले नवराज सिलवाललाई रोकेका थिए, त्यस विपरितका परिणाम नै कांग्रेसको पराजय हो ।

प्रदेश नम्बर दुई अन्र्तगत आठ जिल्लाको स्थानीय निकायको चुनावलाई देउवाले प्रतिष्ठाको विषय बनाएका छन् । कुनै हालतमा चुनाव जित्ने गरी साम, दाम, दण्ड भेदको नीति अँगालेका छन् । तर, आठ जिल्लामा खटिएका कर्मचारी र सुरक्षा निकायले देउवालाई झस्काउने रिपोर्ट पठाएको बुझिएको छ । काँग्रेसको आधार क्षेत्र मानिएको तराईमा समेत पछि परेको सूचना आएको छ । कतिपयले सत्यतथ्य खबरहरू देउवाको कानसम्म पु¥याउने साहस सम्म गरेका छैनन् । देउवा निकट विमलेन्द्र निधिको गृहजिल्ला धनुषामा समेत काँग्रेस कमजोर देखिएको छ । वीरगञ्ज महानगरपालिकामा देउवा निकट अजय द्विवेदी कमजोर छन् । यो यथार्थलाई स्वीकार्ने हो भने देउवाले संसद र प्रदेशको चुनावमा समेत झड्का खाने परिणाम आउँदैछ । चुनावमा नेपाली काँग्रेसको हारको जिम्मेवार देउवाले लिने छन् छैनन् प्रतिक्षाको विषय हुनेछ । विगतमा सुशील कोइरालालाई निर्णय क्षमता नभएको आरोप लगाउने काँग्रेसका नेताहरू अहिले देउवाभन्दा सुशील सयौं गुणा क्षमतावान् थिए भन्दै हिंडेका छन् । सुशीलले काँग्रेसलाई संसदीय चुनावमा पहिलो स्थान दिलाउन सकेका थिए । राष्ट्रियताका सवालमा अडान लिएका थिए । नाकाबन्दीको सामना गर्न राष्ट्रभित्र एकता बलियो बनाउन भूमिका खेलेका थिए । तर, देउवाले प्रधानमन्त्रीको कुर्सीका लागि नैतिकता बिर्सेर लोकतान्त्रिक मूल्य मान्यतालाई महाकाली नदीमा बगाइदिएका छन् । उनको सय दिनको अर्थात सत्तामा रहँदाको हनिमुन अवधि बेथिती, भ्रष्टाचार, अराजकता र बदनामीले भरिएको छ । नेपाली काँग्रेसका कार्यकर्तालाई आफ्ना सभापति शेरबहादुर देउवा हुन् भन्दा लाज लाग्ने अवस्था बनेको छ । उनका कर्तुतहरूको असन्तुष्टिबाट पहाड नै बन्दै गएको छ । त्यो पहाडको टापुमा उनले नवराज सिलवाललाई पु¥याइदिए ।

नवराजको राजनीतिमा उदय !
प्रहरी सेवामा रहेका नवराज सिलवाल सामान्य अवस्था भइदिएको भए नेपालका अन्य प्रहरी अधिकृतहरू जस्तै जागिरे जीवनबाट अवकाश पाई घर बस्थे । तर, उनका पछाडि चारपटक देशको प्रधानमन्त्री भइसकेका व्यक्ति हात धोएर लागे । संसदमा प्रतिनिधित्वका दृष्टिले देशको सबैभन्दा ठूलो र लामो इतिहास बोकेको दलका सभापति लागेका थिए । अदालतको आदेशलाई समेत चुनौती दिदै देउवा नवराजलाई कुनै हालतमा रोक्न लागे । शेरबहादुर भर्सेर नवराजको अवस्था बन्यो । देशभित्रको प्रतिद्वन्द्वीसँग मात्र नभई विदेशका राजनीतिक हस्तीहरूसँग आवश्यक पर्दा जुध्नुपर्ने अवस्थामा शेरबहादुर एउटा प्रहरी अधिकृतको पछि लागे । सत्ता र शक्तिका लागि महाकालीको पुल तर्दै गोप्य मन्त्रणमा पुग्ने उनी नवराजको पछि लाग्नुको रहस्यका पर्दाहरू अझै खोलिएका छैनन् । इतिहासले रहस्य खोल्ला । देउवाले आफ्नो हैसियत बिर्सेर जे जस्ता गतिविधि गरे त्यसले उनी हल्का सावित भए । आफू अलोकप्रीय भएपनि उनका चाकडीवाजहरूले सामाजिक सञ्जालमा योजनावद्ध तरिकाले फैलाइएको अफवाह भनेर गुमराहमा राखे । तर, उनको अलोकप्रीयता चुनावी परिणामले देखाउँदै लगेको छ । आफू सत्तामा रहँदा शक्तिको दुरूपयोग गर्दा पनि आफ्नै गृहक्षेत्रमा नराम्रो हार व्यहार्नुप¥यो । नवराजको पछि लाग्दा साख गुमाउने सम्मको अवस्था बन्दा काँग्रेस इतिहासमै कमजोर अवस्थामा पुग्यो । प्रधानमन्त्रीको कुर्सीमा काँग्रेस सभापति पुग्दैमा काँग्रेस बलियो छैन भन्ने भविष्यले देखाउँदै जानेछ । बरू काँग्रेस सभापतिका नकारात्मक क्रियाकलापले एउटा प्रहरी अधिकृतलाई लोकप्रीय र बलियो बनाउन भूमिका खेल्यो । हरेक क्रियाको प्रतिक्रिया बराबर र विपरित दिशातर्फ हुन्छ भन्ने न्युटनको सिद्धान्त यहाँ पनि लागू हुन्छ । देउवाले जति नवराजलाई सिध्याउन मरिमेटेर लागेर उति नै नवराजले लोकप्रीयता बटुल्दै ऊर्जाशील बन्दै गए ।

नवराजमाथिको अन्यायलाई सिंगो देश र अन्तर्राष्ट्रिय जगत्ले नियालिरहेको थियो । नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मात्र यसबारे पटक पटक बोलिरहे । देउवालाई गाउँको मान्छे आइजीपी बनाउन खोज्ने क्षेत्रीयतावादी र संकीर्ण व्यक्तिको संज्ञा दिए । गाउँमा गएर स्थानीय तहको चुनावमा उम्मेदवार बन्न समेत सुझाव दिए । यो नवराजप्रतिको समर्थन भन्दा पनि देउवाको अन्यायविरुद्ध ओलीको बोली थियो । अदालतको निर्णयपछि भावुक बन्दै विज्ञप्तिमार्फत् आफू प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका सिलवाललाई ओलीले एमालेमा आएर चुनाव लड्न सुझाव समेत दिएको समाचार आयो । ओलीले सार्वजनिक रुपमै नवराज सिलवाललाई गृहमन्त्रीको पदमा पुग्ने गरी तयार हुन समेत आग्रह गरे । ओलीको बोलीले नेपाली राजनीतिमा अर्को तरङ्ग आएको छ । बोलेको पूरा गरिछाड्ने अडान भएका नेताका रूपमा ओली चिनिन्छन् । उनले नाकाबन्दीका बखत राजनीतिलाई दाउमा राखेर छिमेकी र उग्रवादी क्षेत्रीयतावादीहरूको सामना गरेका थिए । बोलेको गरिछाड्ने ओलीले नवराजलाई राजनीतिमा लाग्न प्रेरित गर्ने प्रस्ताव सार्वजनिक रूपमा गरेपछि नवराजप्रतिको समर्थनको स्वरलाई आफ्नो हितमा ढाल्न खोजेको रूपमा लिन सकिन्छ ।

नवराजलाई विरोधीले एमाले निकट भनी देउवालाई भेटी भेटी चुकुल हाल्ने प्रहरीका उच्च अधिकारी देखि केही काँग्रेस नेता कार्यकर्ता समेत थिए । प्रहरी सेवामा लागेका व्यक्तिलाई यो या त्यो पार्टी र उक्त पार्टीको नेता विशेषको मान्छे भनी आरोप लगाउने प्रचलन पुरानै हो । विना प्रमाण निराधार आरोप लगाएर नवराजलाई एमाले बनाउन खोज्दा उनी साँच्चैको एमाले भए । क्षमतावान् र राम्रा विरोधीलाई समेत आफ्नो बनाउन भूमिका खेल्नुपर्नेमा धकेलेर विरोधीको पोल्टामा पु¥याउने कार्य देउवाले गरे । उनका राजनीतिक गुरूहरू वीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला क्षमतावान् छन् भने भिन्न विचारधाराका भएपनि नजिक बनाउँथे । उनीहरूको प्रशंशा विपक्षीले समेत गर्ने कारण यही हो । त्यसैले उनीहरूले राजनीतिक उचाई बनाए । तर, नजिक हुन खोज्ने क्षमतावन् र राम्रालाई लखेटी लखेटी विपक्षीकोमा पु¥याए देउवाले । अब नवराज सिलवाल राजनीतिमा लागेर सफल भएमा देउवालाई विशेष जस जान्छ । राजनीति सम्भावनाको खेल हो । ओलीले उद्घोष गरेजस्तै नवराजले चुनाव लडेर गृहमन्त्री बनेमा धन्यवादको पात्र देउवा बन्नेछन् । देउवाले लखेट्दा नवराजको लोकप्रीयता बढ्यो । शक्तिकेन्द्रको अन्यायमा पर्दा नवराजलाई जनताको न्याय मिल्ने वातावरण मिलिरहेको छ । इश्वरले सत्य देख्छन् तर पर्खनुपर्छ । न्यायको तराजु अदालतमा भन्दा जनमनमा हुन्छ । नवराज सिलवाल राजनीतिमा लागेमा उनीमाथिको अन्यायको जवाफ जनताले मतदानबाट गर्न सक्छन् । मानिस होस् या भगवान् समय सबैभन्दा बलवान् १ समयले सबै देखाउँदै जाला ।

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top