यस कारण कंगोबाट फर्काइए एक सय ५० नेपाली सैनिक


Tuesday, 10 Oct, 2017 12:00 AM

शम्भु कट्टेल
काठमाडौं
-नेपाली सेना नेतृत्वको हेलचेक्र्याइँ र संयुक्त राष्ट्रसंघसँग कमजोर समन्वयका कारण शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएकामध्ये १ सय ५० जना नेपाली शान्ति सैनिक १० महिनाअघि नै स्वदेश फिर्ता भएका छन् ।

सैनिक मुख्यालयले म्यान्डेटविपरीत आवश्यकताभन्दा बढी सैनिक पठाएपछि राष्ट्रसंघले नेपाली शान्ति सैनिक फिर्ता पठाएको हो । उनीहरू एक वर्षका लागि असार अन्तिम साता शान्ति सैनिकका रूपमा कंगो गएका थिए । सैनिक नेतृत्वले आवश्यकताभन्दा बढी संख्यामा शान्ति सैनिक पठाएपछि संयुक्त राष्ट्रसंघले १ सय ५० जना नेपाली सैनिक फिर्ता पठाएको सैनिक स्रोतले बताएको छ ।

उनीहरू बिहीबार राति १० बजे काठमाडौं फर्किएका हुन् । कंगोमा अब ७ सय नेपाली शान्ति सैनिक कार्यरत छन् । जंगी अड्डाका एक सैनिक अधिकारीले भने, ‘संख्या कटौती हुने पहिल्यै थाहा पाएर पनि संख्या बढाएर पठाउनु गैरजिम्मेवारीपन थियो । मिलाउन सकिन्छ कि भनेर मुख्यालयले जबरजस्ती पठायो तर समन्वय गर्न नसक्दा मिसनबाट फर्कनुपर्‍यो ।’

यूएन म्यान्डेटविपरीत बढी संख्यामा पठाएकाले नेपाली सैनिकलाई फिर्ता पठाएको कंगोबाट फर्केका एक सैनिक अधिकारीले भने । ‘सैनिक मुख्यालयले गम्भीर हेलचेक्र्याइँ गरेको छ’, उनले भने, ‘मुख्यालयलाई पहिल्यै थाहा भएर पनि आवश्यकताभन्दा बढी संख्यामा पठायो । बढी संख्यामा पठाउनु र फर्काइनुको चित्तबुझ्दो जवाफ मुख्यालयले दिएको छैन । बीचैमा फर्कनुपर्दा नरमाइलो र अपमानित महसुस भएको छ ।’ फर्काइएका १ सय ५० जना सबैलाई मुख्यालयले माघभित्र सुडान, मालीलगायत देशमा पठाइसक्ने आश्वासन दिएको स्रोतले बताएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका महासेनानीसमेत रहेका निमित्त प्रवक्ता विजय थापाले संयुक्त राष्ट्रसंघले बजेट कटौती गरेपछि अन्य देशसँगै नेपाली शान्ति सैनिकको संख्या पनि कटौती भएको बताए । महासेनानी थापाले भने, ‘उनीहरूलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा राखेका छौं । उनीहरूलाई अन्य देश पठाउन राष्ट्रसंघसँग परामर्श गर्दै छौं ।’कंगोमा नेपाली शान्ति मिसनको नेतृत्व सम्हालेका प्रमुख सेनानी वसन्त गौतमले अन्य देशका शान्ति सैनिकको संख्यासमेत कटौती गरेको र त्यसमा नेपाल पनि परेकाले फर्किनुको कुनै विकल्प नभएको जवाफ दिएका थिए ।

उनीहरूले बल्लतल्ल मिसन पुगेको तर कमजोर नेतृत्वका कारण दुई महिनामै फर्कनुपरेको भन्दै सैनिक नेतृत्वको कार्यशैली र राष्ट्रसंघसँगको कमजोर समन्वयको चर्को आलोचना गरेका छन् । फर्किएका सैनिकले कंगोको मिसन भद्रगोल भएको आरोपसमेत लगाएका छन् ।

कंगो मिसनमा लगिएका हातहतियार पुराना र यूएन म्यान्डेटविपरीत भएको, सवारीसाधनको अवस्थासमेत दयनीय भएको फर्किएकाहरूले आरोप लगाएका छन् । ड्युटी गर्न जान लागेका सहकर्मीलाई स्टोरमा कार्यरत एक सैनिकले सामान्य विवादमा तातोपानी खन्याइदिएको र उनी हाल स्थानीय अस्पतालमा उपचाररत रहेको सैनिक स्रोतले बताएको छ ।

राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत प्रमुख सेनानी गौतमको नेतृत्वमा ८ सय ५० जना सैनिक अधिकारी असार अन्तिम साता कंगो गएका थिए । राष्ट्रसंघले चार्टर गरेको इथोपियन एयरलाइन्सको जहाजबाट असार २८ गते पहिलो फ्लाइट र साउन ७ गतेको अन्तिम फ्लाइटमा नेपाली शान्ति सैनिक एक वर्षका लागि कंगो लगेको थियो ।
अन्नपूर्ण

Related News

बिचार

किन सफल हुँदैनन् गृहमन्त्री ?

यतिवेला ऊर्जा मन्त्रालयमा सफल भएका जनार्दन शर्मा गृहमन्त्री छन् । उनले गृहमा नियुक्त भएको भोलिपल्टै गृह प्रशासन र प्रहरीमा आमूल परिवर्तनको उद्घोष गरे । उनको पहिलो उद्घोष त सरुवा, बढुवामा चलखेल र सिफारिस बन्द गर्ने थियो । बढुवाका लागि नेताको सिफारिस गर्ने प्रहरीको नम्बर नै घटाउनेसम्मका ‘क्रान्तिकारी’ गफ गरे । तर, व्यवहार भने घोषणा अनुसार गरेनन् । प्रहरीको सरुवा–बढुवामा चरम राजनीतिक हस्तक्षेप देखिएको छ । हचुवाका भरमा सुरक्षासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू भएका छन् । प्रहरीमा इमानदार र क्षमतावान्भन्दा नेताहरूलाई खुसी बनाउने अधिकृतहरू हाबी भएका छन् । एक नम्बरमा एआइजी बनाइएका बमबहादुर भण्डारीलाई मुख्यालयमा थन्काएका छन् । राम्रा एआइजीहरूलाई मुख्यालयमा राखेर खराब रेडर्क भएका एआइजीलाई प्रदेश इन्चार्ज बनाएर पठाइएको छ । एसएसपीको सरुवामा पनि धेरैजसो बदनामहरूले नै अवसर पाएका छन् । धनुषाजस्तै हरेकजसो जिल्लामा नेताले आफ्ना विश्वासपात्र प्रहरी प्रमुख लैजान थालेका छन् । ऊर्जामै जस्तै गृह प्रशासनमा ‘उज्यालो’ छर्ने अपेक्षा गरिएका शर्माले तीन महिनाको कार्यकालमा प्रहरी संगठनभित्र अपेक्षा अनुसारको काम गर्न सकेनन् ।

सेनालाई सधैँ शंका किन ?

 मनोबलबिनाको फौज भिडसरह हुनेछ। सिपाहीको मनोबल परिवारसँग पनि जोडिएको हुन्छ। सिपाही भनेको दर्जा होइन, यो सैनिक पेसा हो। तसर्थ वर्षको ११ महिना ब्यारेक बस्नुपर्दा र शान्ति सेनामा जाँदा वर्षको १२ महिनै विदेश बस्दा आफ्ना घरपरिवारसँग रेडियोमार्फत सन्देश प्रवाह गर्ने काम हुनु जरुरी छ। सकिन्छ भने निःशुल्क टेलिफोन सेवा प्रदान गरिनैपर्छ। यद्यपि त्यसभन्दा रेडियो सस्तो पर्न जानेछ। अर्को कुरा, हाल सेनामा तलदेखि माथिसम्मका दर्जाहरू शिक्षित भएका र साहित्य सिर्जना, इतिहास लेखन, सैनिक अभ्यासका सम्झनाहरू लेख्न र पढ्न रुचि राख्ने धेरै भएकाले त्यस्ता प्रतिभाहरूबाट लेख–रचना संकलन गरी प्रसारण गर्दा अझै गौरव गर्नेछन्, फौजले। त्यसै गरी संगीत र गायन क्षेत्रमा रुचि राख्ने फौजलाई पनि रेडियोमार्फत आफ्नो प्रतिभा प्रष्फुटन हुन दिनु जरुरी छ।  नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी ब्यारेक बस्ने राष्ट्र सेवकहरू भएकाले ती अंगहरूमा आ–आफ्नो टेलिभिजन, रेडियो लगायतका सञ्चारमाध्यम हुनु नितान्त ढिलो भइसकेको छ। नेपाल सरकार, आम नेपाली, नेपाली पत्रकार जगत्, प्राज्ञ, विज्ञले सेना–प्रहरीको ब्यारेक जीवनको कष्ट बुझेर यस पक्षलाई सहयोग गर्नुपर्छ।

महत्वपूर्ण वेबसाइट

Top