सरकारले आफु खुसि गरेपछि डीआईजी बढुवा रोकियो, निर्वाचन आयोगले स्वीकृति दिन मानेन


Sunday, 3 Dec, 2017 12:00 AM

काठमाडौं  -नेपाल प्रहरीमा डीआईजी पदमा बढुवाका लागि सरकारले राखेको प्रस्तावमा निर्वाचन आयोगले स्वीकृति दिन अस्वीकार गरेको छ । राजनीतिक भागबण्डा मिलाउनका लागि सरकारले नेपाल प्रहरीमा डीआईजी दरबन्दी थप्ने मनसायका साथ डीआईजी बढुवाका लागि निर्वाचन आयोगसँग स्वीकृति मागेको थियो । तर, निर्वाचन आचारसंहिता विपरीत हुने जानकारीका साथ आयोगले स्वीकृति नदिएको हो ।


सरकारले राजनीतिक भागबण्डा मिलाउनकै लागि प्रहरीमा ९ डीआईजी दरबन्दी थप्ने तयारी गरेको थियो । यसअघि सरकारले ४ एआईजी दरबन्दी रहेको प्रहरी संगठनमा थप दरबन्दी सृजना गरेर १६ एआईजी बढुवाका लागि सिफारिश गरेको थियो । प्रहरीमा अहिले ५ डीआईजी पद खाली रहेको छ भने सरकारले थप ९ डीआईजी दरबन्दी सृजना गर्न खोजेको स्रोतले बताएको भन्दै आजको सुशासन न्युज साप्ताहिकले समाचार लेखेको छ ।


हाल ५ डीआईजी पदमा १९ जना एसएसपीहरुले बढुवाका लागि दौडधूप सुरु गरेपछि सरकारलाई डीआईजी बढुवा मिलाउन हम्मेहम्मे परेको छ । क्षमतावान् र योग्यलाई छान्नुको सट्टा विवादित र आफ्ना नातागोताका अधिकृतहरुलाई डीआईजीमा बढुवा गर्न दरबन्दी थप्न लागिएको स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार सातवटै प्रदेशमा सरकारले एआईजी खटाएपछि यसअघिका पाँचवटा क्षेत्रीय कार्यालयका डीआईजीहरु जिम्मेवारीविहीन छन् ।


हाल नेपाल प्रहरीमा प्रशासनतर्फ २६ जना डीआईजीको दरबन्दी छ । कुनै पनि संस्थामा दरबन्दी थप गर्नका लागि ओएनएम सर्भे गर्नुपर्ने हुन्छ । तर, पछिल्लो समय राजनीतिक भागबण्डा मिलाउन हचुवाका भरमा धमाधम माथिल्लो तहको दरबन्द थप्ने परिपाटीले प्रहरी संगठनको भविष्य नै अन्योलमा पर्ने बताउँछन्, पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी । ‘संगठनको आवश्यकता के हो, कुनकुन पदको दरबन्दी थप्नुपर्ने हो, त्यसबारेमा ओएनएम सर्भे गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसरी जथाभावी दरबन्दी थप्नु संगठनको हितमा हुँदैन ।’


नेपाल प्रहरीमा प्रशासनतर्फ कायम रहेको २६ र थपिन लागिएको ९ समेत गर्दा डीआईजीको संख्या ३५ पुग्ने भएको छ । हाल रिक्त ५ र थपिने ९ गरी १४ डीआईजी पदका लागि १९ जना एसएसपी बढुवाको दौडधूपमा लागेका छन् । आफू निकटका प्रहरी अधिकारीलाई बढुवा गराउन बढुवा समितिका पदाधिकारीहरुलाई विभिन्न शक्तिकेन्द्रबाट दबाब आउन सुरु भइसकेको छ ।


प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार वरीयताको १६ नम्बरमा रहेका एसएसपी सुशीलकुमार भण्डारीलाई डीआईजीमा बढुवा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गृहसचिव सापकोटालाई निर्देशन दिइसकेका छन् भने वरीयताको ९ नम्बरमा रहेका दिनेश अमात्यलाई बढुवा गर्न प्रधानमन्त्रीपत्नी आरजु देउवाले दबाब दिँदै आएकी छिन् । अमात्य विवादास्पद प्रहरी अधिकारी हुन् । गुण्डानाइकेसँग विशेष साँठगाँठ रहेका उनी अपराध महाशाखामा कार्यरत रहँदा विभिन्न असुली तथा फर्जी इन्काउन्टरको विवादमा तानिएपछि ६ महिनामै त्यहाँबाट सरुवा भएका थिए । बढुवामा पर्नका लागि उनले चुनाव खर्च भन्दै शक्तिकेन्द्रमा बिफ्रकेश बुझाइसकेको प्रहरी मुख्यालयमा चर्चाको विषय बनेको छ ।


त्यस्तै, वरीयताको दोस्रो नम्बरमा रहेका एसएसपी कृष्णप्रसाद गौतमलाई डीआईजीमा बढुवा गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको चर्को दबाब रहेको बुझिएको छ । गौतम र पराजुली नाताले ज्वाइँ–जेठान हुन् । नवलपरासीको एसपी हुँदा आर्थिक प्रलोभनमा परी ज्यान मुद्दाका अभियुक्तलाई छाडेको आरोपमा निलम्बनमा परेका गौतम विवादास्पद प्रहरी अधिकृत हुन् ।


यस पटकको बढुवामा तुलनात्मक रुपमा सुभाष चौधरी, रवीन्द्रप्रसाद शर्मा, दीपककुमार थापा, केदार रिजाल, शेरबहादुर बस्नेत, पीताम्बर अधिकारी कमलबहादुर जिटी, दानसिंह बोहोरा, नारायणसिंह खड्का, सुरज केसी र महेशविक्रम शाह बढुवाका बलिया उम्मेदवार हुन् । उनीहरुका अलावा प्रेम चन्द, श्याम खड्का, विष्णुहरि गौतम, रामप्रसाद श्रेष्ठ, महेन्द्रकुमार पोखरेल र मोहनराज जोशी डीआईजी बढुवाका आकांक्षी हुन् ।

Related News

बिचार

उच्च अधिकृतहरूको राजनीतिमा घुन भएर पिसिन लागेका विचरा दुई डिएसपीहरू

हालै दुई जना डिएसपी नवराज सिलवाललाई हराउन खटिए भन्ने समाचार भाइरल भएको छ । मेरो विचारमा यो हुन सक्ला तर त्यसको उद्देश्य ती दुई डिएसपीको महत्वांकाक्षाभन्दा पनि तिनका उच्च प्रहरीका महत्वांकाक्षाले तिनलाई खटाएको हुनुपर्छ । उच्च प्रहरी जो नवराजसँग डराउँछन् वा घृणा गर्छन् वा सिलवालसँग दुश्मनी छ, तिनले आफ्ना स्वार्थका लागि नवराजलाई हराउन खटाएका हुन सक्छन् । तर के ती उच्च प्रहरीको मात्र नवराज हराउने महत्वांकाक्षा होला र रु त्यसमा नवराजको विरोधी दल र नवराज बिगार्न प्रत्यक्ष संलग्न नेता पनि हुन सक्छन् । त्यो नेताका लागि उच्च प्रहरी अधिकृतले डिएसपी खटाएको पनि हुनसक्छ । अझ त्यतिमात्र होइन तस्कर, अपराधी जसका विरुद्ध नवराजले एक्सन गरे तिनीहरू पनि त उनलाई हराउन चाहन्छन् र त्यस्ता अपराधीसँगै उच्च प्रहरीहरूको साँठगाँठ हुन पनि त सक्छ नी । धेरै प्रहरीहरूको पैसा व्यापारीहरूले प्रयोग गरेको र कतिपय अपराधमा संलग्न भई काम गरेको समाचारहरू पनि बाहिर आएकै हुन् । कतिपय समाजमा इमानदार कहलाएका प्रहरी कर्मचारीहरू भित्र–भित्र डरलाग्दो रूपमा पैसा कमाई बसेका छन् भन्ने पनि चर्चा चलेकै छ । अस्पताल, हाउजिङ्ग, बालुवा ठेक्का–पट्टा, शैक्षिक संस्थानलगाएत काममा लगाउने सम्मको कुरा उच्च दर्जाबाट हुने गरेको सुनिएकै हो ।

शेरबहादुर देउवाका प्रतिस्प्रर्धी खगराज भट्टले मतदातालाई लेखे मार्मिक पत्र

म व्याक्तिगत रुपमा कसैलाई गाली र अपमान गर्न चाहान्न् । तर जनताले अब निर्मम निर्णय लिनैपर्छ यसपटक । हो निसन्देह म तेस्रोपटक तपाईको मतका लागि चुनावी मैदानमा छु । मैले डडेल्धुराको विकासका लागि केही योजना सार्वजनिक गर्दा मेरा प्रतिद्धन्द्धी साथीहरुबाट म विरुद्ध नियोजित प्रहार गर्ने,मेरो राजनीतिक जीवनमा दाग लगाउन खोज्ने प्रयास भइरहेकोप्रति म दुख व्यक्त गर्दछु । मैले कहिले पनि पद,पैसा,पावरका लागि कहिल्यै कसैसंग सम्झौता गरिन । बरु यो वा त्यो बाहनामा मलाई निर्वाचन लड्नबाट रोक्ने,पैसालाई खरिद गर्ने र भनेजति पैसा दिने प्रस्ताव कतिपय ठाउँबाट आएकै हो ।
 

महत्वपूर्ण वेबसाइट

Top