एक वर्षमा २३ सय प्रहरी कारबाहीमा, २७० जनाको जागिर गयो, कसलाई कस्तो कारबाही ?


Saturday, 12 Aug, 2017 12:00 AM

नवराज मैनाली
काठमाडौं -
एक वर्षमा ३२ सिनियर प्रहरी अधिकृतसहित दुई हजार तीन सय ८१ प्रहरी कारबाहीमा परेका छन् । अघिल्लो वर्षभन्दा झन्डै दोब्बर प्रहरी कारबाहीमा परेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३/७४ मा दुई एसएसपी, एक एसपी, दुई डिएसपी र २७ जना इन्स्पेक्टर विभागीय कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेमध्ये तीन सय ४६ जनालाई जागिरबाट हटाइएको छ । जागिरबाट हटाइएकामा तीनजना इन्स्पेक्टरसमेत छन् । दुई इन्स्पेक्टरसहित २४ जनालाई सेवाबाट हटाइएको छ । गम्भीर किसिमको भ्रष्टाचारमा संलग्नलाई नोकरीबाट हटाउने तथा बर्खास्तीको कारबाही हुने गरेको छ ।

नसिहत पाउने धेरै
कारबाहीमा पर्नेमध्ये सबैभन्दा धेरैले नसिहत पाएका छन् । एक हजार दुई सय ६ जनालाई कारबाहीस्वरूप नसिहत दिइएको छ । एक एसपी, दुई डिएसपी, १८ इन्स्पेक्टर, ४६ सइ, एक सय १६ असइ, दुई सय ६२ प्रहरी हवल्दार, सात सय ५४ जवान र आठजना कार्यालय सहयोगी छन् । नसिहत पाएका प्रहरीहरू बढुवामा पछि पर्दछन् । भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही गर्ने प्रहरीहरू कारबाहीमा परेका हुन् ।

कसलाई कस्तो कारबाही ?
एक सय ५१ जनाको ग्रेड रोक्का, २९ जनाको प्रतिकूल राय तथा ३८ जनाको ग्रेड घटुवा गरिएको छ । दुई सय तीनजनाको पदोन्नति रोक्का, २६ जनाको पद घटुवा, दुई सय पाँचजनाको तल्लो स्केलमा घटुवा तथा एक सय ५३ जना अनुसन्धानका लागि निलम्बनमा परेका छन् । कारबाहीको संख्यामा प्रहरीमा आन्तरिक शुद्धीकरणलाई चित्रित गर्ने प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्की बताउँछन् ।

आव ०७२/७३ मा एक हजार दुई सय ७२ प्रहरी विभागीय कारबाहीमा परेका थियो । तर, पछिल्लो वर्ष कारबाहीमा पर्नेको संख्या झन्डै दोब्बर पुगेको छ । कारबाही बढ्नुले संगठनभित्र मौलाएको भ्रष्टाचारलाई प्रतिबिम्बित गर्ने प्रहरी अधिकारीहरू बताउँछन् । आव ०७३र७४ मा देशमा अपराध पनि अघिल्लो वर्षभन्दा करिब १० प्रतिशत बढेको थियो । नेपाल प्रहरीमा ७२ हजार सात सय १९ प्रहरी छन् । जसमध्ये करिब ३ प्रतिशत प्रहरी कारबाहीमा परेका छन् ।

९८८ को राजीनामा
प्रहरीमा जागिर छाड्नेहरूको क्रम पनि रोकिएको छैन । हरेक दिन औसत तीनजना प्रहरीले राजीनामा दिने गरेका छन् । गत आवमा नौ सय ८८ जनाले राजीनामा दिएका छन् । प्रहरीमा पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिने प्रवृत्ति बढ्दै गएको छ ।

खासगरी तल्लो तहका प्रहरीहरू राजीनामा दिने गरेका छन् । राजीनामा दिएपछि पेन्सन आउने र अन्यत्र काम गरेर धेरै कमाइने भएकाले उनीहरूले राजीनामा दिने गरेका छन् । कतिपय त राजीनामा दिएर वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

३० वर्षे सेवाहदका कारण पनि धेरैले पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिएर अन्य पेसा अँगाल्ने गरेका छन् । तालिमप्राप्त अधिकारीले बीचैमा जागिर छाड्दा संगठनलाई ठूलो असर पर्ने गरेको छ । एक व्यक्तिलाई तालिम दिएर प्रहरी बनाउन न्यूनतम सात लाख रुपैया खर्च हुने गर्दछ ।

नयांपत्रिका

Related News

बिचार

पूर्वराष्ट्रपति डा रामवरण यादवको सनसनीपुर्ण खुलासा :- मैले तीनपल्ट सेना बचाएको छु

अहिले सम्झिँदा– पहिलो संविधानसभामा जुन पार्टीहरूले सेरेमोनियल राष्ट्रपतिको भरपूर उपयोग गरे, दोस्रो सभामा तिनैले अविश्वास गरेजस्तो लाग्दैन रुतपाईंले यो एकदम ठिक भन्नुभयो । उनीहरूले सत्ताको लागि यसो गरेका हुन् । राष्ट्रपति सेरेमोनियल हो । तर, जुन बेला संसद् रहँदैन, त्यसको अख्तियार पनि राष्ट्रपतिकहाँ गइहाल्छ । बुद्धिजीवी, पत्रकारहरूले मलाई त्यसबेला बढी सक्रिय भएको भनी प्रश्न गर्ने पनि गर्छन् । सेनापतिको विषयमा यो प्रश्न उठ्छ । लोकतान्त्रिक गणतन्त्र जोगाउनका लागि सेनाको विषयमा मैले संविधानलाई अलिकति ‘इन्क्रोच’ (हस्तक्षेप) गरेकै हुँ । तर त्यो बुझेर गरिएको निर्णय थियो । किनभने, देशमा दुई वटा सेना थिए । कम्तीमा शिविरका लडाकुको व्यवस्थापन भइसकेपछि कार्यकारी प्रमुखले ‘फुल फङ्सन’ (पूर्ण भूमिका) गर्न सक्थ्यो । नत्र, कहिलेकाहीँ मैले लगाम लगाउनै पथ्र्यो । मैले यो कुरा प्रधानमन्त्री प्रचण्डलाई स्पष्ट भनिदिएको थिएँ, ‘तपाईं विद्रोही प्रधानमन्त्री, रक्षामन्त्रीले दुई वटा सेनाको समस्या समाधान गर्नुस् । त्यसपछि सेनाको इस्युमा हात हाल्नुस् ।’

प्रचण्डजी, बाबुरामजीहरूले एक डेढ महिनादेखि बाहिर आएर बोल्न थाल्नुभएको थियो । मेरो सोच र उहाँको सोचमा फरक हुन थाल्यो । मैले सिधै त सोधिनँ, तर भित्र–भित्रै होमवर्क गर्न थालिसकेको थिएँ । किनकि, मैले अरू पार्टीहरूको फरक विचार छ भन्ने थाहा पाइरहेको थिएँ । रक्षामन्त्री (बादल) ले प्रधानमन्त्रीकहाँ सेनापतिलाई बोलाएर मलाई सहयोग गर्न (राजीनामा दिन) भनेपछि सेनापतिले मलाई फोन गरेका थिए । दोस्रोपल्ट पनि त्यसैगरी बोलाएर सहयोग गर्न भनेको थाहा पाएपछि मैले (कटवाललाई) राजीनामा नगर्न भनें । म त्यसबेला पत्रकारको एउटा कार्यक्रममा थिएँ । बाटोबाटै सेनापतिको फेरि फोन आयो । मैले जवाफ दिएँ, ‘तपाईंले प्रधानमन्त्री र रक्षामन्त्रीलाई भन्नुहोला– संस्थागत प्रक्रियाबाट राजीनामाका लागि कुरा ल्याउन भन्नुस्, (संस्थागत बाटोबाट ल्याउँदा चिठी राष्ट्रपतिकहाँ आइपुग्छ) अहिले राजीनामा नगर्नुहोला ।’
पुलिस र सशस्त्रको नियमावली परिवर्तन नगर्नुस् भनेर मैले प्रधानमन्त्री राखेर उहाँलाई भनेको थिएँ । उहाँले नमान्ने हुँदा आज पुलिस र सशस्त्रको के दशा छ ? आज सशस्त्र भन्सार र एयरपोर्टमा बसिरहेको छ ।
 

संगठन भित्र हस्पक्षेपका कारण जनताको नजरमा प्रहरीको छवि धमिलो !

उत्कृष्ट प्रहरी व्यवहार त्यतिबेला प्रदर्शित हुन्छ, जब प्रहरीले समाजका सम्पूर्ण वर्ग र समुदायलाई समान ठानी निस्वार्थ व्यावसायिक कार्य सम्पादन गरी आफू सबैको साझा व्यक्ति भएको भन्ने कुरा प्रहरी व्यवहारबाटै प्रमाणित गराउँछ । यो अवस्थामा प्रहरी कार्यसँग जनता सन्तुष्ट रहन्छन् । प्रहरी हाम्रै लागि हो भन्ने जनभावना विकसित हुन्छ । प्रहरी र जनताको पारस्परिक सम्बन्ध प्रगाढ बन्दै जान्छ । आवश्यक सहयोग आदान–प्रदान गर्ने परिपाटी बस्छ । जसका कारण प्रहरी कार्य प्रभावकारी हुने भएकोले समाजको नजरमा प्रहरीको छवि सुध्रन्छ । तर यसविपरीत प्रहरीबाट हुने गरेको एकपक्षीय व्यवहारले प्रहरीको छवि धमिलिएको छ । यसको सुधारका निम्ति प्रहरी व्यवहार लोकप्रिय हुन जरुरी छ ।  यसर्थ राजनीतिक प्रभावको कारण प्रहरीमा परेका उपरोक्त नकारात्मक असरले प्रहरी संगठनलाई नै बदनाम गराउँदै आएको हुँदा यसको अन्त्य गरी नेतामुखी बन्दै गएको प्रहरी सेवालाई जनमुखी बनाउन गृह नेतृत्व र प्रहरी नेतृत्व दुवैले ध्यान पु¥याउनु आवश्यक छ ।

महत्वपूर्ण वेबसाइट

Top